काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गर्ने बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भारको व्यवस्था गरेको छ । यसअघि २५ लाख रुपैयाँसम्मको शेयर धितोकर्जामा १०० प्रतिशत र सो भन्दामार्थिको कर्जामा १ सय ५० प्रतिशत जोखिम भारको व्यवस्था रहेको थियो ।
नयाँ निर्देशनमार्फत राष्ट्र बैंकले ५० लाख भन्दामार्थिको शेयर धितोकर्जामा भने १ सय ५० प्रतिशतको जोखिम भारको व्यवस्था गरेको छ । यसैगरी २५ लाख भन्दा मार्थिको हायरपर्चेज तथा लोनमा पनि १५० प्रतिशतको जोखिम भारको व्यवस्था गरेको छ । यसअघि पनि हायरपर्चेज तथा लोनमा पनि १५० प्रतिशतको जोखिम भारको व्यवस्था गरिएको थियो तर कर्जाको सीमा भने तोकिएको थिएन् ।
२५ लाख रुपैयाँसम्मको हायरपर्चेज तथा लोनमा पनि १०० प्रतिशतको जोखिम भारको व्यवस्था गरिएको छ । यसअघि यो व्यवस्था थिएन् । यसैगरी जग्गा प्राप्त तथा विकास (रियल स्टेट लोन) मा पनि १५० प्रतिशतको जाखिम भारको कायमै राखिएको बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दा शेयर धितो कर्जाको जोखिम भार र हायरपर्चेज तथा लोनमा पुनरालोकन गर्ने भनिएको थियो ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरुले छुट्टा छुट्टै वा एकमुष्ट गरी २५ लाख रुपैयाँ वा सो भन्दा बढी रकमको कर्जा कुनै व्यक्तिलाई प्रवाह गर्नु परेमा त्यस्तो व्यक्तिले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ । साथै एकीकृत निर्देशनको निर्देशन नं ३ को वुदा नं ६ अनुसार ऋणी एउटै समूह अन्तर्गत पर्ने भएमा त्यस्तो समूहले २५ लाख रुपैयाँ वा सोभन्दा बढी रकमको कर्जा लिएको अवस्थामा उक्त समूह अन्तर्गतको कुनै व्यक्तिलाई २५ लाख रुपैयाँ भन्दा कम रकमको कर्जा प्रवाह गर्नुपरेको अवस्थामा समेत अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्ने बैंकले जनाएको छ ।



