काठमाडौं । कर्जाको पुनर्तालिकीकरण गर्न सहकारी संस्थालाई सहकारी विभागले निर्देशन दिएको छ । बिहीबार ५ बुँदे निर्देशनपत्र जारी गर्दै विभागले गत आर्थिक वर्ष खराब ऋणीको सूचीमा नपरेका तथा कर्जा पुनर्तालिकीकरणको सुविधा नलिएका र कर्जा पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गरेमा बाँकी साँवालाई ३ महिनाको अवधिका लागि पुनर्तालिकीकरणको व्यवस्था गर्न निर्देशन दिएको हो ।
विभागले अघिल्लो आर्थिक वर्षको भाखा नाघेको व्याज साउन १५ सम्म भुक्तान गरे अघिल्लै वर्षको आयको रुपमा गणना गर्न पाउने छुट दिनेबारे निर्देशन दिएको छ । त्यस्तै, वित्तीय साक्षरता कार्यक्रम सञ्चालनमा जोड दिँदै संघ/संस्थाको बचत वृद्धि र भाखा नाघेको ऋण असुलीलाई प्रभावकारी बनाउन समेत विभागले निर्देशन दिएको छ ।
विभागले सहकारी संघ/संस्थालाई आफ्ना सदस्यहरूसँग नियमित समन्वय र सम्पर्क गर्दै सदस्य केन्द्रित सेवा प्रवाह गरी सदस्यहरूको विश्वास आर्जनमा केन्द्रित हुन निर्देशन दिएको छ । कृषि उत्पादन तथा सेवासँग जोडिएका सहकारी संघ/संस्थाहरुलाई कृषि उत्पादन वृद्धि, सामुहिक खेती प्रवर्द्धन, सदस्यहरूको उत्पादनको बजारीकरण आदिमा सहयोग पुर्याएर सदस्यहरूलाई कृषिको व्यवसायिकरण गर्न प्रेरित गर्न समेत निर्देश गरेको छ ।



