काठमाडौं । युरोकप २०२० मा शनिबार राति भएको समूह बी को खेलमा डेनमार्क फिनल्याण्डसँग १-० ले पराजित भएको छ ।
फिनल्याण्डले भने डेब्यु प्रतियोगिताको पहिलो खेलमै जित हात पारेको छ ।
पहिलो पटक युरोकप खेलिरेको फिनल्याण्डको लागि जोएल पोहनपालोले ५९औं मिनेटमा गोल गरेका थिए ।
डेनमार्कले पेनाल्टीमार्फत खेलमा फर्कने अवसर पाएको थियो । खेलको ७४औं मिनेटमा डेनमार्कका पिएरे एमिल होजवर्गको पेनाल्टी प्रहार फिनिस गोलकिपरले बचाए ।
पहिलो खेलमै जित हात पारेको फिनल्याण्डले ३ अंक जोड्दा सन् १९९२ को च्याम्पियन डेनमार्कले घरेलु मैदानमै हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
४१औं मिनेटमा डेनिस खेलाडी क्रिस्टियन एरिक्सन थ्रोबाट आएको बल लिने क्रममा बेहोस भएर मैदानमै ढलेपछि खेल रोकिएको थियो र युइएफएले तत्कालका लागि खेल स्थगित गरेको थियो ।
एरिक्सनलाई मैदानमै सीपीआर दिइएको थियो । त्यसपछि उनलाई स्ट्रेचरमा राखेर हस्पिटल लगियो । उनको अवस्था स्थिर भएपछि दुवै टिमलाई खेल फेरि सुरु गर्न प्रस्ताव गरेको यूइएफएले जनाएको थियो ।



