काठमाडौं । सरकारले काठमाडौं उपत्यका लगायत देशभर निषेधाज्ञा जारी गरेको डेढ महिना भयो । पहुँच भएकाहरु बाहेक योबीचमा सबैजसो मानिसहरु घरमै थुनिएर बसेका छन् । अहिले कोरोनाको संक्रमणदरमा उल्लेख्य कमी छ । अस्पताल भर्ना हुने र मृत्यु हुने संख्यामा की आउँदै गर्दा आर्थिक तथा जनजीवनको विषय भने निकै कष्टकर बनिरहेको छ । तर, सरकारले भने फेरि निषेधाज्ञा थप्ने तयारी गरिरहेको छ ।
काठमाडौं उपत्यकामा सोमबार रातीदेखि निषेधाज्ञाको समय सकिँदैछ । जेठ मसान्तसम्मका लागि जारी निषेधाज्ञा असारदेखि खुल्ने अपेक्षा सर्वसाधारणको थियो । तर, उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको छ ।
सोमबारदेखि निषेधाज्ञा सकिने भएपछि आज तीववटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ । केही खुकुलो बनाएर निषेधाज्ञा थप्नेगरी गृहकार्य भइरहेको जिल्ला प्रशासन कार्यालयका एक अधिकारी बताउँछन् । ती अधिकारीका अनुसार निषेधाज्ञा एक हप्ता वा १० दिन थप हुनेछ । गृह मन्त्रालयबाट निषेधाज्ञा खोल्ने सहमति नआएकोले निषेधाज्ञा बढाउन लागिएको ती अधिकारी बताउँछन् । गृहले बिहीबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाएर केही खुकुुलो बनाएर निषेधाज्ञालाई निरन्तरता दिने आशय व्यक्त गरेको थियो ।
आजको बैठकले केही क्षेत्रमा थप खुकुलो बनाउने निर्णय गर्न सक्नेछ । तर, आम सर्वसाधारण आर्थिक गतिविधि, श्रम वा रोजगारीमा सहभागी हुनेगरी निषेधाज्ञा खुला हुने छैन । खासगरी आर्थिक वर्षको अन्तिम महिना आइसकेकोले पुँजीगत खर्च हुने कामलाई बढी खुुकुलो बनाउने सम्भावना छ । निषेधाज्ञा खुकुुलो बनाएको आभाष दिलाउन पसल खोल्ने समय एक घण्टा बढाउने सम्भावना छ । त्यसैगरी नयाँ शैक्षिक सत्र शुरु हुन लागेका कारण पाठ्यपुस्तक तथा स्टेशनरीको ढुवानी र बिक्रीवितरणलाई सहज बनाउने तयारी गरिएको छ ।
अहिले वर्षा सुरु भएको र खेतीबालीको समय समेत भएकोले उपत्यका बाहिरका जिल्लाहरुमा भने कृषि कर्मलाई खुुकुलो बनाउनेगरी सहमति दिएको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल थपिने निषेधाज्ञाको मोडालिटीबारे ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र डीसीसीएमसीसँग छलफल भइरहेको बताउँछन् ।
प्रवक्ता दाहालका अनुसार निषेधाज्ञाको मोडालिटीबारे विभिन्न खालका अभिव्यक्ति आएपनि आइतबार साँझसम्ममा एउटा निश्कर्षमा पुगिने गरी छलफल अघि बढेको छ । सार्वजनिक यातायात, अन्तरिक हवाई सेवा तथा थप गन्तव्यमा अन्तर्राष्ट्रिय उडान खोल्ने विषयमा भने छलफल अघि नबढेको बताइएको छ ।
यसैबीच केही सीमित क्षेत्रको प्रतिबन्ध कायम राखेर निषेधाज्ञा खुला गर्नुपर्छ भन्ने आवाज बलियो हुन थालेको छ । देशभरका अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएसनले विज्ञप्ती जारी गरेर निषेधाज्ञा खुला गर्न माग गरिसकेको छ । निजी क्षेत्रका अन्य संस्थाहरु पनि अब निषेधाज्ञा खुला गर्नुपर्छ भन्ने पक्षमा छन् । कोरोना नियन्त्रणउन्मुख हुँदैगर्दा यतिबेला भारतका विधिन्न राज्यले पनि निषेधाज्ञा हटाउँदै लगेका छन् ।



