काठमाडौं । शनिबार गठन भएको गण्डकी प्रदेश सरकारमा स्वतन्त्र सांसद दीपक मनाङे विना विभागीय मन्त्री बनेका छन् । लामो समयको राजनीतिक खिचातानीका बीच निर्णायक मोडमा उभिएका मनाङे मन्त्री बनेको यो पहिलो पटक भने होइन ।
पहिलो पटक वैशाख १६ गते गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सुम्पिएका मनाङे पछिल्लो डेढ महिनामा ३ पटक मन्त्री बनेका छन् ।
वैशाख १६ गते मन्त्री नियुक्त गर्दा मनाङेको पक्षमा भन्दा विपक्षमा धेरै जनमत थियो । खराब पृष्ठभूमि बोकेका मनाङेको नियुक्तिप्रति सामाजिक सञ्जाल र सञ्चारमाध्यममा समेत व्यापक आलोचना भएको थियो । तर पछिल्लो डेढ महिनाको राजनीतिक घटनाक्रमले उनलाई दुवै पक्षको सर्वस्वीकार्य मन्त्रीको रूपमा परिचित गराइदिएको छ ।
बहुमतको लागि ३१ जना सांसदको आवश्यकता रहेको प्रदेश सभामा मनाङेको मत सरकार निर्माणको लागि निर्णायक थियो । उनैको कारण अहिले गण्डकी प्रदेशमा काँग्रेस नेतृत्वको सरकार बन्यो भने प्रदेश सभा विघटन हुनबाट पनि जोगियो ।
अहिले मन्त्री नियुक्त भएसँगै उनले तीन पटक मन्त्री भएको रेकर्ड राखेका छन् । उनी दोस्रो पटक वैशाख २९ गते मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएर संसदको ठूलो दलको हैसियतमा बनेको सरकारमा मन्त्री नियुक्त भएका थिए ।
सुरुमा उनले एमालेको नेतृत्वबाट २ पटक शपथ लिए । आपराधिक पृष्ठभूमिका कारण सुरुमा विवाद भए पनि २ पटकसम्म मन्त्री बनाएर सत्तारुढ नेकपा एमालेले उनलाइ राजनीतिक नेताको रुपमा ग्रहण गर्यो । त्यसो त उनी एमालेकै सहयोगमा मन्त्री बनेका थिए ।
अहिले विपक्षी गठबन्धनसँग जोडिएर उनले तेस्रोपटक शपथ लिए । पहिले विरोध गरिरहेका विपक्षीहरुले पनि उनलाई राजनीतिक नेताको रुपमा स्वीकार गरेका छन् । पछिल्लो समय संसदीय राजनीतिमा खेलेको निर्णायक भूमिका अहिले चर्चाको विषय बनेको छ ।



