काठमाडौं । युरोपेली च्याम्पियनसिप अर्थात युरोकप २०२० को खेल आज (शुक्रबार) देखि सुरु हुँदैछ ।
कोरोना महामारीले गर्दा गत वर्ष नै हुनुपर्ने युरोकप एक वर्ष पछि सरेको हो ।
मिनी विश्वकपको रुपमा चिनिने युरोकपको यो १६औं संस्करण हो ।
युरोकपको ६०औं वर्षको अवसरमा यस पटक प्रतियोगिता ११ देशमा हुँदैछ ।
यसपालि हुने खेलमा कूल २४ टिमले प्रतिस्पर्धा गर्दैछन् जसमा ९ टिम त पूर्वविजेता मात्रै छन् ।
आज हुने उद्घाटन खेलमा इटली र टर्की भिड्ने छन् ,उद्घाटन खेल रोममा हुनेछ ।
उपाधि दाबेदार भएर पनि अहिलेसम्म युरोकप जित्न नसकेका बेल्जियम र इंग्ल्याण्ड पनि यस पटक खेल्दैछन् ।
साविक विजेता पोर्चुगल, विश्व विजेता र साविक उपविजेता फ्रान्स, सर्वाधिक ३ पटकको च्याम्पियन जर्मनी र स्पेन अनि विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम प्रमुख दाबेदारको रुपमा छन् ।
यस्तै इंग्ल्याण्ड, एक पटकको विजेता इटली र नेदरल्याण्ड्स पनि उपाधि दाबेदारकै रुपमा छन् ।
२०१६ मा डेनमार्क र नेदरल्याण्ड्स छनोट हुन नसके पनि यस पटक पुनरागमन गरेका छन् ।
पोर्चुगल, फ्रान्स र जर्मनी एउटै समूहमा रहेकाले एक पूर्व विजेताको यात्रा समूह चरणबाटै समाप्त हुन पनि सक्छ ।
तर ६ वटै टिमको शीर्ष दुई टिमसँगै तेस्रो हुनेमध्ये चार टिम पनि प्रिक्वाटरफाइनलमा पुग्ने भएकाले तीनवटै टिम नकआउट पनि पुग्न सक्छन् ।
त्यसका लागि सबै ६ टिमको नतिजा र अन्य समूहको नतिजा निर्णायक हुनेछ ।



