काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै केपी ओली पक्षीय नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले झलनाथ खनाल माधव नेपाल समूहका १७ जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
एमालेको संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री भट्लाई विश्वासको मत दिने निर्णय गरेको थियो ।
जनता समाजवादी पार्टी (जसपा) र ओली पक्षका सात सांसदले भने विपक्षमा मतदान गरेका थिए । संसदीय दलले उनीहरुसित मंगलबार नै स्पष्टीकरण मागेको थियो ।
एमालेको स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिए पनि संसदीय दलले उक्त निर्देशनलाई चुनौती दिएको थियो ।
एमाले प्रदेश कमिटीले खनाल–नेपाल समूहका १७ सांसदलाई स्पष्टीकरण सोध्दै कारबाहीको चेतावनी पनि दिएको छ ।



