काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका दुई विश्वासपात्र हुन्, गोकुल बाँस्कोटा र महेश बस्नेत । मन्त्रिपरिषद् विस्तारको क्रममा यी दुवैले शक्तिशाली मन्त्रालय ताकेका थिए । बस्नेतले प्रधानमन्त्रीपछिकै शक्तिशाली मानिने गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गरेका थिए भने बाँस्कोटा पूर्वतत अवस्थामा सञ्चारमन्त्रीको हैसियतले सरकारमा फर्किन चाहन्थे । तर, दुवैको योजना यसपटकका लागि असफल भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरि मन्त्रिपरिषद् विस्तार गर्दैछन् । तर, उनले विस्तार गर्न लागेको मन्त्रिपरिषद् आफ्नालाई रिझाउन मात्रै सीमित हुने भएको छ । १७ सदस्य भएको मन्त्रिमण्डलमा अब ८ जना मात्रै थपिन बाँकी छ । त्यसमध्ये ८ जनाको सूची प्रधानमन्त्रीले तयार पारिसकेका छन् ।
तीमध्ये गृहमन्त्रीमा खगराज अधिकारी छानिएका छन् । उनी प्रतिनिधिसभामा विपक्षी सांसदले ल्याएको प्रस्तावमा सरकारपक्षीय सांसदको रुपमा नियमापत्ति जनाउन प्रखर सांसद मानिन्थे ।
त्यस्तै, कैलालीमा शेरबहादुरपत्नी आरजु राणालाई हराएर चर्चामा आएका नारदमुनी रानालाई बन मन्त्रलयको जिम्मेवारी दिन लागिएको छ । यसअघि उपप्रधानमन्त्री समेत रहेका इश्वर पोखरेलले पाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी मोहन बानियाँले पाउने भएका छन् ।

त्यस्तै, रामबहादुर थापाको सिफारिसमा उनकी पत्नी नैनकला थापा सञ्चारमन्त्री, प्रभु साहको सिफारिसमा ज्वालाकुमारी साह कृषिमन्त्री हुने भएका छन् । राजपाको विवाद मिलाउन राजकिशोर यादवलाई उद्योग मन्त्रालय दिने तयारी गरिएको छ । त्यस्तै, माधव नेपाल पक्षको रहेर पनि विपक्षमा हस्ताक्षर नगरेका गणेश पहाडीले सामान्य प्रशासनमन्त्री बन्ने भएका छन् । आशा विकलाई बन राज्यमन्त्री दिइने भएको छ ।



