images
images

पिपलबोट–सेराफाँट सिँचाइ आयोजना पुनर्निर्माण


  • 423
    SHARES
  • २०७८ जेठ २७ गते बिहीबार

    पिपलबोट–सेराफाँट सिँचाइ आयोजना पुनर्निर्माण

    काठमाडौं । बाढीले क्षति पु¥याएको जिल्लाको मङ्गला गाउँपालिका–५ स्थित पिपलबोट–सेराफाँट सिँचाइ आयोजना पुनर्निर्माण भएको छ । विसं २०७७ असार–साउन महिनामा अर्मनखोलामा आएको बाढीले सिँचाइ आयोजनाको मुहान बगाएको थियो । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीको सहयोगमा स्थानीयवासीले श्रमदान गरेर बाढीले बगाएको ठाउँमा छेकबाँध, पलम प्रविधिको पक्की पर्खाल र नहर निर्माण गरेका हुन् । 

    पिपलबोट–सेराफाँट सिँचाइ जलउपभोक्ता समितिका अध्यक्ष श्यामसुन्दर कडेलले मुहान र नहर पुनर्निर्माण कार्य सकेर पानी चलाइएको जानकारी दिनुभयो । “बाढीले नहर बगाएपछि सिँचाइको समस्या भएको थियो”, उनले भने, “बाढीले कटान गरेको ठाउँमा नयाँ नहरका साथै पलम कङ्क्रिट पर्खाल र मुहानमा २९ थान ग्यावियन पर्खाल भएको छ ।”

    कोरोनाको जोखिम र नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको असहज अवस्थाका बीच स्थानीय मजदुर परिचालन गरेर सिँचाइ आयोजना पुनःनिर्माण भएको हो । रोपाइँको तयारीमा रहेका कृषकहरुमा सिँचाइ आयोजना पुनर्निर्माण भएपछि खुसीयाली छाएको स्थानीय तुलसीराम सापकोटाले बताए । बाढीले नहर बगाएपछि अस्थायीरूपमा पाइप राखेर पानी आपूर्ति गराइएको थियो ।  

    कार्यालयको ४८ लाख रुपैयाँ अनुदान र उपभोक्ताको पाँच लाख रुपैयाँको लागतमा पुरानो नहर पुनर्निर्माणका साथै ६०० मिटर थप नयाँ नहर निर्माण भएको छ । यसैगरी पहिरोले नहर पुरिएपछि हाँडेभिर र काँसेबगर क्षेत्रमा सिँचाइका लागि पानी आपूर्ति गराउन १२० मिटर २८० एमएम र ५० मिटर २०० एमएमको पाइप जडान गरिएको छ । 

    आयोजनाबाट ५२ हेक्टर क्षेत्रफल जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीका इञ्जीनियर बालकृष्ण बुढाथोकीले जानकारी दिए । “विसं २०७७ पुसमा सम्झौता गरेको उपभोक्ता समितिले निर्धारित समयभित्रै निर्माण सकेको छ”, उनले भने, “हाम्रो तर्फबाट अन्तिम किस्ता भुक्तानीका लागि स्थलगत नापजाँच सकेर मूल्याङ्कन अन्तिम चरणमा पुगेको छ ।”

    विसं २०५५ मा निर्माण भएको आयोजनाको कच्ची नाली, पाइपमार्फत पानी ल्याएर वितरण गर्दा पर्याप्त पानी नआउने, पालो लगाएर सिँचाइ गर्नुपर्ने समस्या भएपछि विसं २०७५ मा एक हजार ५०० मिटर लामो नयाँ नहर निर्माण भएको थियो । 

    नयाँ नहर निर्माण र पुनःनिर्माण भएपछि आवश्यकता अनुसार पानी आपूर्ति भई खेतीबाली लगाउन सहज भएको सेराफाँटका गोविन्द पौडेलले बताए । पिपलबोट र सेराफाँट धान, गहुँ र मकै खेतीको पकेट क्षेत्र हो । सिँचाइ सुविधा भएपछि कृषि उपजको उत्पादन बढ्ने भन्दै कृषक उत्साहित भएका छन् ।  


    images
    images

    Logo