images
images

जनार्दन शर्मामाथि लागेको आरोपमा भेटिएन प्रमाण


  • 300
    SHARES
  • २०७९ श्रावण १३ गते शुक्रबार

    जनार्दन शर्मामाथि लागेको आरोपमा भेटिएन प्रमाण

    काठमाडौं । चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको निष्कर्षसहितको प्रतिवेदन पेश गरेको छ । 

    प्रतिनिधिसभाको आज बसेको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले सो प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमा अर्थ मन्त्रालयका पदाधिकारीसँग गरिएको छलफल, मन्त्रालयबाट प्राप्त जवाफ र कागजात तथा सिसिटिभी फुटेजको अध्ययन गर्दा करको दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको उल्लेख छ । 

    “करको दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएपछि करको दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रभावको प्रसङ्ग सान्दर्भिक रहेन, करका दरले अर्थतन्त्रमा पारेको प्रभावको नियमित अध्ययन, संसद्को विषयगत समितिले नै गर्ने हुँदा त्यसतर्फ यस समितिले थप केही गर्नुपर्ने देखिएन”, प्रतिवेदनको निष्कर्ष छ ।

    समितिले बजेट तर्जुमाको कार्यमा संलग्न पदाधिकारी र कर्मचारीको जिम्मेवारीसम्बन्धी विधिमा उल्लेखित राजस्वका दर परिवर्तन, खारेजी तथा नयाँ प्रस्ताव गरी आर्थिक विधेयकलाई अन्तिमरुप दिने छलफलमा अर्थमन्त्री, राज्यमन्त्री, अर्थसचिव, राजस्व व्यवस्थापन महाशाखाका प्रमुख, भन्सार विभाग तथा आन्तरिक राजस्व विभागका महानिर्देशक र राजस्व व्यवस्थापन महाशाखाका भन्सार र आन्तरिक राजस्व हेर्ने उपसचिवबाहेक अन्य कुनै पनि पदाधिकारीलाई संलग्न नगराउन सरकारलाई सुझाव दिएको छ । 

    समितिले सिसिटिभी जडान तथा सञ्चालन निर्देशिका, २०७२ लाई अर्थ मन्त्रालय र निर्देशिका जारी गर्ने गृह मन्त्रालयसमेतले पूर्णरुपमा पालना नगरेको देखिएकाले सिसिटिभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले अनिवार्यरुपमा उक्त निर्देशिका पालना गर्नुपर्ने सुझाव दिएको छ । सिंहदरबार परिसरभित्र प्रवेश गर्ने र बाहिर निस्कने व्यक्तिको व्यवस्थित अभिलेख राख्ने पद्धतिको विकास, सबै निकायमा सिसिटिभी प्रणाली व्यवस्थित र सिंहदरबार परिसरको समग्र सुरक्षा प्रणालीलाई व्यवस्थित गर्न छुट्टै अध्ययन गर्नुपर्ने समितिको सुझाव छ । 


    images
    images

    Logo