काठमाडौं । नेपाली जनसम्पर्क समिति साइप्रसको अधिवेशन अगस्ट ७ (साउन २२) मा हुने भएको छ । नेपाली काँग्रेस अन्तर्गतको उक्त समितिलाई अधिवेशन गर्न पार्टीले स्वीकृति दिएसँगै अधिवेशनको मिति टुङ्गिएको हो ।
काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार पत्र पठाउँदै समितिले प्रस्ताव गरेबमोजिम नै अधिवेशनका लागि अनुमति प्रदान गरिएको जानकारी गराएका छन् । साथै, अधिवेशनका लागि जनसम्पर्क समिति कतारका पूर्व अध्यक्ष नरेन्द्र भाटलाई केन्द्रीय प्रतिनिधिको रुपमा पठाउने निर्णय गरेको पत्रमा उल्लेख गरिएको छ ।
पार्टीको जनसम्पर्क समितिको रुपमा २०७४ सालमा गठन भएको समितिले २०७६ सालमा पहिलो अधिवेशन गरेको थियो । ३/३ वर्षमा अधिवेशन गर्ने व्यवस्था अनुसार अहिले दोस्रो अधिवेशन गर्न लागिएको हो । समितिका सभापति सीता अर्यालले आफूले प्रस्ताव गरेबमोजिम नै पार्टीले अधिवेशनका लागि अनुमति दिएको बताउँदै अब आफूहरु अधिवेशनको तयारीमा लागेको उल्लेख गरिन् ।
अधिवेशनका लागि अर्यालकै नेतृत्वमा आयोजक समिति गठन गरिएको छ । अधिवेशनकै लागि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, आर्थिक समिति, विधान समिति र निर्वाचन समिति समेत गरी थप ५ वटा समिति समेत बनाइएको छ । व्यवस्थापन समितिमा उपसभापति पुष्पा मिश्र, प्रचारप्रसार समितिमा महामन्त्री कुमार सिहं र आर्थिक समितिमा लक्ष्मीता गुरुङ संयोजक रहेका छन् । त्यस्तै, सागर अर्यालको संयोजक्तवमा विधान समिति र मनिष कुमार अधिकारीको संयोजकत्वमा निर्वाचन समिति बनाइएको सभापति अर्यालले जानकारी दिइन् ।
कोभिड–१९ महामारीको नयाँ लहरका कारण साइप्रस लगायत युरोपियन राष्ट्रमा कोभिड प्रोटोकल जारी भएको छ । सोही कारण समितिले भर्चुअल माध्यमबाट अधिवेशन गर्न लागेको छ । सभापति अर्यालका अनुसार उक्त दिन साईप्रसको राजधानी निकोसीयस्थित एक हलबाट भर्चुअल रुपमा गरिने तयारी छ । उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रीय समितिका नेता, विभिन्न देशका जनसम्पर्क समितिका प्रतिनिधि, राजदुतावास, कन्सुलर र गैरआवसीय नेपाली संस्थाका प्रतिनिधिहरुलाई आमन्त्रण गरिने तयारी गरिएको छ ।
अहिले समिति अन्तर्गतका ४ क्षेत्रका क्षेत्रीय अधिवेशन यसअघि सर्वसम्मत रुपमा चयन भइसकेको छ । अधिवेशनले आगामी कार्यकालका लागि केन्द्रीय समितिको नयाँ नेतृत्व चयन गर्नेछ । केन्द्रीय समिति समेत सर्वसम्मत रुपमा चयन गर्न प्रयास भइरहेको बताइएको छ ।
५ वर्ष अघि गठन भएको समितिमा हाल ५०१ जना क्रियाशील सदस्य पुगेका छन् । अहिले साइप्रसमा १२ हजार नेपाली रहेको अनुमान गरिएको छ । यो आधारमा क्रियाशील सदस्यको संख्या नेपालीको कुल जनसंख्याको तुलनामा ४ प्रतिशत भन्दा बढी हुन आउँछ । अनुपातका आधारमा यो जनसम्पर्क समितिहरुमध्येकै सबैभन्दा बढी हो ।
सभापति अर्यालले समितिले साइप्रसमा बस्ने नेपालीसँग गरेको समन्वय र सहयोगका कारण समितिप्रति आकर्षण बढेको उल्लेख गरिन् । स्थापनाको छोटो अवधिमै देखिएको यो उपलब्धिले आफूहरु उत्साहित भएको भन्दै आगामी दिनमा यसलाई निरन्तरता दिँदै जाने बताइन् ।



