काठमाडौं । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० का लागि करका दरमा हेरफेर गरेको छ । आर्थिक बर्ष २०७९÷८० का लागि स्वीकृत आर्थिक ऐन, २०७९ अनुसार सम्पत्ति, घरबहाल, इरिक्सा, हाटबजार करलगायतमा हेरफेर गरी साउन १ गतेदेखि लागू भएका छन् ।
उपमहानगरपालिकाले यसअघि लागू गरेको सम्पत्ति र घरबहाल कर १० प्रतिशतले घटाएको छ । सम्पत्ति कर सम्पत्तिको मूल्यअनुसार १ सयदेखि ४९ हजार ५ सय रुपैयाँ सम्म कायम गरिएको छ । यस्तै ५ लाख रुपैयाँसम्म करयोग्य सम्पत्ति भएमा १ सय र ५ करोड रुपैयाँदेखि माथि भएमा प्रतिहजारको दुईका दरले सम्पत्ति कर तिनुपर्नेछ ।
यस्तै, इरिक्सा व्यवसायीले यसअघि रुट परमिट र नवीकरणबापत ५ सयका दरले १ हजार रुपैयाँतिर्दै आएकामा चालु आर्थिक वर्षमा ३ सयका दरले ६ सय रुपैयाँ बुझाउनुपर्ने बुटवल उपमहानगरपालिकाका राजस्व शाखाप्रमुख दामोदर ज्ञवालीले जानकारी दिए ।
यस्तै, महिला, अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका व्यवसायका लागि लाग्ने व्यवसाय करमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।
त्यसैगरी सडक विस्तारका कारण व्यवसाय सञ्चालनमा कठिनाइ बेहोरेका चौराहादेखि गोलपार्कसम्मका राजमार्गमा मोहडा भएका व्यवसायीले ३५ प्रतिशत कर छुट पाउने व्यवस्था मिलाइएको उपमहानगरपालिकाले जानाएको छ ।
नागरिकता, अपाङ्गता, ज्येष्ठ नागरिक परिचयपत्रसहित १३ प्रकारका सिफारिस दस्तुर निःशुल्क गरिने व्यवस्था मिलाइएको ज्ञवालीले जानकारी दिनुभयो ।
बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ६० करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएको छ । नागरिकमाथिको करको भार घटाएर दायरा बढाउने गरी करका दरमा हेरफेर गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
उनले राजस्व परामर्श समितिको सिफारिसअनुसार चालु आर्थिक वर्षको राजस्व सङ्कलनको प्रक्षेपण गरिएको बताउनुभयो । यसअघि ७१ करोड २५ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिइएकामा ५३ करोड रुपैयाँ सङ्कलन भएको राजस्व शाखा प्रमुख ज्ञवालीले जानकारी दिए ।



