काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा विश्वका १ सय ६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आर्थिक बर्षको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट १९ खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको हो ।
तथ्याङ्कअनुसार उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै १२ खर्ब १५ करोड २७ लाख रुपैयाँ भन्दा बढीको सामान आयात गरेको थियो । १२ खर्ब रुपैयाँ भन्दा बढीको सामान आयात हुँदा १ खर्ब ५५ अर्ब २२ करोड ३० लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो । नेपालले भारतसँग मात्रै १० खर्ब ४४ अर्ब ९३ करोड ४ लाख रुपैयाँ भन्दा बढीको व्यापार घाटा व्यहोरेको थियो ।
भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । १ वर्षको अवधिमा चीनबाट २ खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख रुपैयाँ बराबरको आयात भएको र ८० करोड ८७ लाख ५४ हजार रुपैयाँ बराबरको मात्र सामान निर्यात हुँदा चीनसँग २ खर्ब ६३ अर्ब ९७ करोड ४९ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।
आयातसँगै निर्यात पनि वृद्धि भएको थियो । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्याङ्कअनुसार विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको थियो । आर्थिक बष २०७८÷७९ मा नेपालले २ खर्ब ३० करोड ९६ लाख रुपैयाँ बराबरको स्वदेशी वस्तु निर्यात गरेको थियो । अघिल्लो आर्थिक वर्ष नेपालले १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख रुपैयाँ बराबरको निर्यात गरेको थियो । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात २४ दशमलव ७२ र निर्यात ४१ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ ।
बढ्यो व्यापार घाटा
आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्यापार घाटामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको होे । विभागका अनुसार गत आर्थिक वर्ष मुलुकको व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख रुपैयाँ पुगेको थियो । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख रुपैयाँ बराबर थियो ।
एक वर्षको अवधिमा नेपालले २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । यो अघिल्लो आर्थिक वर्षकोे तुुलनामा २६ दशमलव १५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष नेपालले १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।



