काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय सरकारले १२ खर्ब ९६ अर्ब २४ करोड रुपैयाँ बराबरको खर्च गरेको छ । त्यसमध्ये चालु खर्च ९ खर्ब ६१ अर्ब ४७ करोड रुपैयाँ र पुँजीगत खर्च २ खर्ब १६ अर्ब ३७ करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फको खर्च १ खर्ब १८ अर्ब ४० करोड रुपैयाँ बराबरको खर्च भएको छ ।
केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख गरेको विवरणअनुसार सो आर्थिक बर्षमा सरकारले १० खर्ब ६७ अर्ब ९६ करोड रुपैयाँ बराबर राजश्व सङ्कलन गरेको छ । त्यस्तै, सरकारले २ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ कुल आन्तरिक ऋण परिचालन गरेको छ, । जुन कुल गार्हस्थ्य उत्पादनको ४.८ प्रतिशत हुन आउँछ । साँवातर्फ ४७ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी भएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब ८३ अर्ब ९७ करोड रुपैयाँ खुद आन्तरिक ऋण परिचालन भएको छ । गत असार मसान्तसम्ममा सरकारको कुल आन्तरिक ऋण २२.९ प्रतिशतले वृद्धि भई ९ खर्ब ८४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । २०७८ असार मसान्तमा यस्तो ऋण रु आठ खर्ब ३२ करोड बराबर रहेको थियो ।
१७ खर्ब ६३ अर्बको आयात
आर्थिक बर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई १ खर्ब ८५ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । यस्तै कुल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भई १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।
कुल वस्तु व्यापार घाटा २५ प्रतिशतले वृद्धि भई १५ खर्ब ७७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । यसबीचमा विप्रेषण आप्रवाह सुधारोन्मूख रहेको छ । आयातमा भएको उल्लेख्य वृद्धिका कारण चालु खाता एवं शोधनान्तर घाटा उल्लेख्य रहन गएको छ । आर्थिक बर्ष २०७८/७९ को एघार महिनामा चालु खाता ५ खर्ब ९५ अर्ब ७३ करोड रुपैयाँले घाटामा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता घाटा २ खर्ब ९८ अर्ब ११ करोड रुपैयाँ रहेको थियो । बढ्दो चालु खाता घाटाले अर्थतन्त्रमा आन्तरिक उत्पादनभन्दा माग उच्च रहनुको साथै वित्तीय स्रोत र मागबीचको अन्तर पनि बढ्दै गएको स्थितिलाई देखाएको छ ।
सो आर्थिक बर्षको एघार महिनामा शोधनान्तर घाटा २ खर्ब ६९ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँले घाटामा रहेको थियो । शोधनान्तर घाटा बढेकाले आर्थिक वर्ष २०७८÷७९ को एघार महिनामा विदेशी विनिमय सञ्चितिमा करिब २ अर्ब ३० करोड अमेरिकी डलरले कमी आई ९ अर्ब ४५ करोड अमेरिकी डलर कायम भएको छ ।
सो सञ्चिति ६.७३ महिनाको वस्तु तथा सेवा आयातका लागि पर्याप्त हुने देखिन्छ । पछिल्लो समय अमेरिकी डलरसँग नेपाली मुद्रा अवमूल्यन भइरहेको कारण मुद्रास्फीति नियन्त्रणमा थप दबाब सिर्जना भएको छ ।२०७८ साल असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ६.६४ प्रतिशतले अवमूल्यन भएको केन्द्रीय बैंकको विवरण छ ।



