images
images

राष्ट्र बैंकले ल्यायो वैधानिक विप्रेषणलाई प्रोत्साहन गर्ने नीति


  • 297
    SHARES
  • २०७९ श्रावण ६ गते शुक्रबार

    राष्ट्र बैंकले ल्यायो वैधानिक विप्रेषणलाई प्रोत्साहन गर्ने नीति

    काठमाडौं । के तपाइँ वैदेशिक रोजगारीमा हुनुहुन्छ ? यदि तपाइँले वैधानिक माध्यमबाट विप्रेषण पठाउनु भएको छ ? यदि छ भने अब तपाइँले राज्यका तर्फबाट विभिन्न खालका सुविधा पाउनुहुने भएको छ । यसअघि नै विप्रेषणबाट प्राप्त हुने रकममा बढी ब्याज पाउने र धितोपत्र निष्कासन गर्दा १० प्रतिशत बराबरको आरक्षणको व्यवस्था भइसकेको छ । त्यसका अलावा अन्य सुविधा पनि पाउने कानुनी प्रबन्ध गरिएको छ । 

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले वैधानिक माध्यमबाट विप्रेषण भित्र्याउने र त्यसको प्रमाण पेस गर्नेलाई सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा मात्रै कूल ६ लाख नागरिक वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । यस्तै, हालसम्म कूल ४६ लाख नेपाली युवा रोजगारीको खोजीका लागि विदेशिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विवरणमा उल्लेख छ ।  

    आव २०७८/७९ को ११ महिनामा मात्रै ९ खर्ब ४ अर्ब बराबरको विप्रेषण भित्रिएको छ । सो आवको नौ महिनासम्म विप्रेषण आप्रवाह घट्दै आएकामा दसौँ तथा एघारौँ महिनामा विप्रेषण आप्रवाहमा वृद्धि भएको छ । 

    दसौँ महिनामा ०.२ प्रतिशतले वृद्धि भएको विप्रेषण आप्रवाह एघारौँ महिनामा ३.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको एघार महिनाको अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा ७.५१ अर्ब विप्रेषण आप्रवाह भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ७.३९ अर्ब अमेरिकी डलरभन्दा १.५ प्रतिशतले बढी हो । यस सन्दर्भमा केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत विभिन्न सेवा तथा सुविधा उपलब्ध गराउन लागिएको हो । 

    नीतिमा भनिएको छ, “वैदेशिक रोजगारीका लागि जाने नेपालीले विदेशी मुद्रा सटही सुविधा प्राप्त गर्न अनिवार्य रुपमा बैंक खाता हुनुपर्नेलगायत विप्रेषण औपचारिक माध्यमबाट स्वदेश भित्र्याएको प्रमाणका आधारमा विभिन्न सेवा तथा सुविधा उपलब्ध हुने व्यवस्था गर्न नेपाल सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरिनेछ ।” 


    images
    images

    Logo