काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि पनि उच्च क्षमताका अन्तरदेशीय प्रसारण लाइनको निर्माण हुनुपर्नेमा जोड दिइएको छ । गत जेठदेखि नेपालले भारतमा दैनिक ३ सय ६४ मेगावाट बराबरको बिजुली निर्यात गरिरहेको सन्दर्भमा प्रसारण पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा सरोकार भएका व्यक्ति वा निकायले जोड दिएका छन् ।
हाल नेपाल र भारत जोड्ने ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मात्रै सञ्चालनमा छ । सो प्रसारण लाइनको क्षमता ४ सय केभीको हो । अन्य प्रसारण लाइन पनि सञ्चालनमा छन् तर, ती प्रसारण लाइनको क्षमता २ सय २० केभी, १ सय ३२ केभी, ६६ केभी र ३३ केभी क्षमताका मात्रै छन् ।
सरकारले न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणको क्रममा छ । सो प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । नेपालको व्यापार घाटा कम गर्नका लागि पनि ऊर्जाको व्यापार प्रमुख आधारका रुपमा स्थापित भएको छ । हाल दैनिक १२ करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात भइरहेको छ । गत वर्ष ३९ मेगावाटबाट सुुरु भएको बिजुली व्यापार यस वर्ष ३ सय ६४ मेगावाट बिजुली निर्यात भइरहेको छ । आगामी दिनमा बिजुली निर्यातका लागि थप मार्गप्रशस्त गर्ने तयारी भइरहेको छ ।
यसैक्रममा नेपालले बङ्गलादेशमा पनि बिजुली निर्यातका लागि पहल गरिरहेको छ । नेपालमा स्रोत भएको र दक्षिण एशियामा स्वच्छ ऊर्जा मात्र भएकाले पनि ठूला क्षमताका प्रसारण लाइन निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिइएको हो । आज यहाँ आयोजित अन्तरदेशीय विद्युत् व्यापार विषयक कार्यक्रमका सहभागीले नेपालको आर्थिक समृद्धि, रोजगारीको वृद्धिका लागि पनि अन्तरदेशीय प्रसारण लाइनका अलावा देशभित्र लगानीको विस्तार गर्नुपर्नेमा जोड दिएका हुन् ।
विशेष गरी वर्षायाममा भारत, बङ्गलादेशलगायतका देशमा बिजुलीको बढी माग हुने र सोही समयमा यहाँ बिजुलीको उत्पादन पनि बढी हुने भएकाले व्यापारका लागि सहज देखिएको छ । त्यसका लागि पनि अन्तरदेशीय प्रसारण लाइनको निर्माण नै जरुरी रहेको उहाँहरुको भनाइ छ ।
नेपाल इनर्जी फाउण्डेशनका अध्यक्ष मोहनदास मानन्धरले नेपालको जलविद्युत्मा लगानी बढाउनुपर्ने बताउनुभयो । उनले त्यसका लागि बहुपक्षीय र दिपक्षीय रुपमा लगानी भित्र्याएर विद्युत् व्यापारका लागि मार्गप्रशस्त गर्नुपर्ने उल्लेख गरे । उनले त्यसका लागि नेपालको जलविद्युत् क्षेत्रमा लगानी बढाउनैपर्ने धारणा राखेका थिए ।
युएसआइडीका डेपुटी मिशन डाइरेक्टर वेथ होगेनले दक्षिण एशियाले आर्थिक विकासमा फड्को मारिरहेको अवस्थामा ऊर्जा क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए । उनले ऊर्जाको सहज व्यापारका लागि पनि अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्नुपर्नेमा जोड दिए । उनले नेपालले आन्तरिक रुपमा खपत गरी कूल ४० प्रतिशत बराबरको ऊर्जा निर्यात गर्नसक्ने अवस्था देखिएको जानकारी दिनुभयो । उहाँले त्यसबाट नेपालले आर्थिक विकासमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । हाल नेपालले गरिरहेको बिजुली निर्यातले पनि ठूलो उपलब्धिको सम्भावना देखाएको उनको भनाइ छ ।
भारतको इनर्जी सेक्युरिटी कन्फेडेरेशन अफ इण्डियन इन्डस्ट्रिका निर्देशक भूपेन्द्रकुमार सिंहले आर्थिक समृद्धिमा मात्रै नभई दक्षिण एशियाली मुलुकमा व्यापारित तथा सामाजिक लाभ एवं रोजगारी सिर्जना, जलवायुँ परिवर्तनको समस्या न्यूनीकरणका लागि पनि ऊर्जाको निर्यातले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
विगतमा नेपालले बिजुली आयात गर्ने गरेकामा हाल निर्यात गर्ने अवस्थामा पुगेको भन्दै उहाँले सरकार– सरकार स्तरमा, व्यवसायी– व्यवसायीका बीचमा वा अन्य कुनै उपयुक्त ढाँचामा बिक्रीको वातावरण थप विस्तार गर्नुपर्ने बताए ।
सारीका परियोजना निर्देशक पङ्कज भात्राले नेपाल भुटान, बंगलादेश, श्रीलंका र भारतमा ऊर्जा क्षेत्रका आ–आफ्ना विशेषता रहेको भन्दै त्यसैलाई ऊर्जा मिश्रणको प्रक्रियामा अगाडि बढाउन आग्रह गरेका थिए ।
नेपाल इनर्जी फाउण्डेशनका उपाध्यक्ष शेरसिंह भाटले ऊर्जा व्यापारमा नेपालले उल्लेखनीय रुपमा फड्को मार्न सक्ने सम्भावना औँल्याउनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले दिगो विकास गर्ने लक्ष्यका साथ सरकारले ऊर्जा क्षेत्रमा योजनाबद्ध विकासका लागि प्रयास गरिरहेको बताए । उनले सरकारी र निजी क्षेत्रमार्फत नेपालको जलविद्युत् क्षेत्रमा विदेशी लगानी विस्तार भइरहेको र सरकार थप सहजीकरणका लागि प्रयासरत रहेको जानकारी दिए ।
उनले बिजुलीको आन्तरिक खपत बढाउँदै बढी भएको बिजुली निर्यातका लागि नेपालले भारत र बंगलादेश उपयुक्त गन्तव्य रहेको तथा आपसी लाभका आधारमा ऊर्जा व्यापार गर्न सकिने धारणा राखेका थिए ।
जल तथा ऊर्जा आयोगका सचिव दिनेश घिमिरेले बिजुलीको व्यापारका लागि आन्तरिक एवं बाह्य पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताए । उनले ढल्केबर मुजफ्फरपुर जस्तै उच्च क्षमताका अन्तरदेशीय प्रसारण लाइनको विकासका लागि लगानी केन्द्रित गर्नुपर्ने बताए ।
राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्र लाभ कर्णले नेपालले सुक्खायाममा नेपालले बिजुली आयात गरिरहेको भए पनि पछिल्ला दिनमा निर्यातसमेत सुरु गरेको उल्लेख गरेका थिए । उनले आन्तरिक खपतको विस्तार गर्दै बढी भएको बिजुली अन्तरदेशीय व्यापारका समेत अग्रसर भएको बताए ।



