राजविराज । सप्तरीको सप्तकोशी नगरपालिकास्थित चन्द्रनहरमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ४ का ७० वर्षीय लक्ष्मी सदा रहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
गाईलाई चराउनको लागि जंगलतर्फ जादै गरेको अवस्थामा चन्द्रनहर पार गर्नेक्रममा पानीमा पसेका सदा अचानक डुबेका थिए । सदा डुबेको खबर प्राप्त हुनासाथ प्रहरीले नहरको पानी बन्द गराइ खोजी गर्दा चन्द्रनहर भन्दा करिब ३ किलोमिटर दक्षिण बगाएर लगेको अवस्थामा शव फेला परेको प्रहरी चौकी फत्तेपुरले जनाएको छ ।
मृतकको शव परिक्षणका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज लगिएको प्रहरीले जनाएको छ । सदा गाउँभरिका गाईबस्तु दैनिक चराउने काम गर्दै आएको स्थानियबासीको भनाई छ ।