काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त विरुद्धको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको रिट खारेज भएको छ । सो रिट शुक्रबार (आज) सर्वोच्च अदालतले खारेज गरेको हो ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासले आईजीपी नियुक्तिविरुद्धको एआईजी पोखरेलले दायर गरेको रिट खारेज भएको हो ।
गत वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले वरिष्ठता मिचेर आईजीपीमा सिंहलाई नियुक्त गरेको र आफूमाथि अन्याय गरेको भनी पोखरेलले अदालतमा रिट दायर गरेका थिए ।
उक्त रिटलाई शुक्रबार निवेदक पक्षका कानुन व्यवसायीले जबाफी बहस सकेपछि सर्वोच्चले सरकारको निर्णय सदर हुनेगरी रिट खारेज हुने फैसला सुनाएको हो ।



