images
images

वैदेशिक रोजगार न्यायाधीकरणबाट हालसम्मकै बढी मुद्दा फछ्र्योट


  • 350
    SHARES
  • २०७९ आषाढ ३० गते बिहीबार

    वैदेशिक रोजगार न्यायाधीकरणबाट हालसम्मकै बढी मुद्दा फछ्र्योट

    काठमाडौं । वैदेशिक रोजगार न्यायाधीकरणले चालु आर्थिक वर्षमा हालसम्मकै बढी मुद्दा फछ्र्योट गरेको छ । २०६६ साल मा स्थापना भएको उक्त न्यायाधीकरणले चालु आर्थिक बर्षमा ७३.४६ प्रतिशत मुद्दा फछ्र्योट गरेको हो । 

    अघिल्लो आर्थिक बर्षको २०१ र चालु आर्थिक बर्षमा दर्ता भएका १ सय ८ गरी ३ सय ९ मुद्दामध्ये २ सय २७ मुद्दा फछ्र्योट गरिएको न्यायाधीकरणका रजिष्ट्रार आनन्दराज पन्तले जानकारी दिए । 

    चालु आर्थिक बर्षमा ८२ वटा मुद्दा फैसला गर्न बाँकी छ । चालु आर्थिक बर्षमा २ सय ६० वटा मुद्दा पर्ने अनुमान गरी न्यायाधीकरणले अघिल्लो वर्षको बाँकीसहित कूल ४ सय ६१ मध्येबाट ३ सय ३१ वटा मुद्दा फैसला गर्ने लक्ष्य लिएको थियो । 

    न्याधीकरणले सोहीअनुसार मासिक लक्ष्य निर्धारणसमेत गरेको थियो । न्याधीकरणले स्थापनाकालदेखि हालसम्म २ हजार ४ सय ९८ मुद्दा फछ्र्योट गरेको छ । न्यायाधीकरणमा १८ महिना नाघेको १ वटा मुद्दा फैसला गर्न बाँकी छ भने एक वर्ष नाघेको मुद्दाको सङ्ख्या सात छ । न्यायाधीकरणले आव २०६६/६७ मा १ सय ५८ मुद्दा दर्ता भएकामा १६ वटा फछ्र्योट गरेको थियो । 

    पछिल्लो पाँच वर्षमा मुद्दा फछ्र्योटको दर ५० प्रतिशत माथि छ । आर्थिक बर्ष २०७४/७५ मा अघिल्लो वर्षको बाँकी र नयाँ दर्ता गरी कूल ६ सय ४३ मुद्दा रहेकामा सो वर्ष ३२५ वटा मुद्दा फछ्र्योट भएको छ । यस्तै आर्थिक बर्ष २०७६/७६ मा ५ सय ७७ मुद्दामध्ये ३ सय ७४, आर्थिक बर्ष २०७६/७७ मा ४ सय ११ मुद्दामध्ये १ सय ६३ र आर्थिक बर्ष २०७७/७८ मा ४ सय ५८ मुद्दामध्ये २ सय ५७ मुद्दा फछ्र्योट भएको उनले बताए । 

    आर्थिक बर्ष २०७६/७७ मा कोरोना महामारीका कारण मुद्दा फछ्र्योट प्रभावित भएको न्यायाधीकरणले जनाएको छ । वैदेशिक रोजगार ऐन, २०६४ अनुसार गठन भएको सो न्यायाधीकरणले वैदेशिक रोजगार कसूरसम्बन्धी मुद्दा मात्र हेर्ने गर्दछ । 

    न्यायाधीकरणमा उच्च अदालतका न्यायाधीश अध्यक्ष तथा श्रम अदालतको अध्यक्षले तोकेको न्याधीश र न्याय सेवा आयोगले सिफारिश गरेको न्याय सेवाको प्रथम श्रेणीको अधिकृत सदस्य रहने व्यवस्था छ । 

    पछिल्लो समय न्यायाधीरकणले मुद्दा फैसलालाई तीव्रता दिनुका साथै मिलापत्रमा जोड दिएको रजिष्ट्रार पन्तले जानकारी दिए । चालु आर्थिक बर्षमा ३८ मुद्दामा मिलापत्र भएको छ । न्यायाधीकरणले वेभसाइट तथा टेलिफोनबाट मुद्दाको जानकारी लिने, सेवाग्राहीका लागि मुद्दामा अवलम्बन गरिने प्रक्रियासम्बन्धी जानकारीमूलक तारेख पर्चाको व्यवस्था गरिएको उनले बताए । 

    आगामी आर्थिक बर्षदेखि साक्षीलाई दैनिक भ्रमण खर्चको पनि व्यवस्था गरिएको उनको भनाइ छ । न्यायाधीकरणका अध्यक्ष रवी शर्मा अर्यालले मुद्दाको कमजोर अनुसन्धान हुँदा फैसला कार्यान्वयनमा समस्या देखिएको बताए । न्यायाधीकरणको फैसला सम्बन्धित जिल्ला अदालतबाट कार्यान्वयनमा जाने गरेको छ । 

    अध्यक्ष अर्यालले वैदेशिक रोजगार ऐनमा समयानुकूल सुधारका साथै वैदेशिक रोजगारीसम्बन्धी ठगीको मुद्दाको अध्ययनमा व्यापक सुधार गर्नुपर्ने बताए । 

     


    images
    images

    Logo