काठमाडौं । आइतबारको शेयर बजार झण्डै तेहेरो अंकले बढ्यो । लामो समयदेखि घट्दै १८ सयभन्दा तल आइपुगेको बजारमा एकैदिन आएको यो उछालले लगानीकर्ताहरुलाई उत्साहित बनाएको छ । यो उछालसँगै बजारमा क्र्यासमा जान लाग्यो भन्दै आत्तिएका लगानीकर्ताहरुमा राहतको महशुस समेत भएको छ ।
तर, आइतबार यति धेरै अंकले शेयर बजार किन बढ्यो ? यसबारे आम लगानीकर्ता अन्यौलमा छन् । यहाँ ३ वटा कारण प्रस्तुत गरिएको छ, जसले शेयर बजारलाई बढाउन मद्दत गर्यो ।
१. लामो समयदेखिको ‘डाउन–ड्रेन्ड’
शेयर बजारमा डउन ड्रेन्ड सुरु भएको लामो समय भइसकेको छ । अघिल्लो असारमा झन्डै ३२०० विन्दुमा पुगेको शेयर बजार घटेर १८०० भन्दा तल आएको थियो । यो अवधिमा शेयर बजारको करिब १७ खर्ब रुपैयाँ बराबरको गिरावट भइसकेको छ ।
शेयर बजारले बिहीबार मात्रै १८८१ को मनोवैज्ञानिक विन्दुलाई समेत पार गरिसकेको थियो । यो विन्दुलाई लगानीकर्ताले खरिद गर्ने एउटा विन्दुको रुपमा लिएका थिए । तर, बजारले सकारात्मक समाचार दिन नसक्दा परिसूचक त्योभन्दा तल झरेको थियो । अहिले बजारलाई सकारात्मक प्रभाव पार्ने समाचारहरु आउँदा यसको प्रत्यक्ष असर परिसूचकमा परेको हो ।
२. धितोपत्र बोर्ड र लगानीकर्ताबीचको सहमति
शुक्रबार नेपाल धितोपत्र बोर्ड र पुँजीबजार सुधारका लागि आन्दोलनरत पुँजीबजार सुधार संघर्ष समितिबीच १७ बुँदे सहमति भयो । लामो समयदेखि आन्दोलनरत लागानीकर्तासँग बोर्डले सहमति गरेर बजार सुधारका लागि अध्ययन समिति समेत गठन भयो ।
यो सहमतिमा अधिकांश बुँदामा ‘पहल गरिने’ जस्ता विषय उल्लेख भए पनि केही उल्लेखनीय विषयमा समेत सहमति जुटेको थियो । यसको प्रभाव शुक्रबारको बजारमा समेत परेको थियो । सुरुमा घटिरहेको बजार सहमति जुटेसँगै उच्च गतिमा बढ्यो । तर, थोरै समय मात्रै शेयर कारोबार हुन पाएकोले त्यो दिन उल्लेख्य रुपमा शेयर बजार बढ्न पाएन । जसको प्रभाव आज देखियो ।
३. मौद्रिक नीतिबारे गभर्नरको ‘लचकता’
त्यसो त शुक्रबार नै नेपाली काँग्रेसका महामन्त्री गगन थापा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको थियो । सो भेटका क्रममा थापाले पुँजी बजारमा देखिएको अन्यौलपूर्ण अवस्थालाई समाधान गर्ने विषयमा गभर्नरको सहयोगको अपेक्षा गरेको बताइएको छ ।
भेटका क्रममा गभर्नरले शेयर बजारमा लगानी गर्ने प्रयोजन बाहेकका लागि मौद्रिक नीतिमा शेयर कर्जामा खुकुलो नीति लिइने आश्वासन दिएको बताइएको छ । अहिले शेयर धितोमा राखेर १२ करोडभन्दा बढी ऋण लिन नपाएको अवस्था परिवर्तन हुने संकेतपछि लगानीकर्ताहरु थप उत्साहित भएका हुन् ।



