काठमाडौं । पुँजीबजारको आन्दोलनमा नयाँ ट्वीस्ट देखिएको छ । बुधबार दिउँसो सहमति नजिक पुगेका लगानीकर्ताहरु धितोपत्र बोर्डको पत्रपछि विच्किएका हुन् ।
बुधबार अपरान्ह आन्दोलनरत लगानीकर्ताका प्रतिनिधि र बोर्डका प्रतिनिधिबीच पुँजीबजार सुधार संघर्ष समितिले राखेका १९ बुँदे मागको सम्बन्धमा छलफल भएको थियो । सबै मागहरुबारे बोर्ड सकारात्मक देखिएको र यसलाई सुधार गर्न समस्या समाधान समिति गठन गर्ने सहमति भएको थियो ।
उक्त सहमतिपछि बोर्डका अध्यक्ष रमेश हमाल अनसनरत तिलक कोइरालाको अनसन तोडाउन गएका थिए । सो क्रममा उनले बोर्डका तर्फबाट समितिमा प्रतिनिधित्व गर्ने २ जना सदस्यको नाम समेत घोषणा गरेका थिए । उक्त समितिमा निमित्त कार्यकारी निर्देशकद्वय विजय देव आचार्य र मुक्तिनाथ श्रेष्ठ रहने हमालले बताएका थिए ।
उक्त समितिमा लगानीकर्ताका तर्फबाट ५ जना सदस्य रहने र त्यसमध्ये आन्दोलनरत पुँजीबजार सुधार संघर्ष समितिको तर्फबाट २ जना र अन्य लगानीकर्ता संघको तर्फबाट ३ जना रहने घोषणा उनले गरेका थिए । सो घोषणापछि जुस पिलाएर अनसन तोडाउन लागेपनि कोइरालाले अनसन तोड्न मानेनन् । उनले उक्त समिति गठन भएपछि मात्रै अनसन तोड्ने अडान लिए । साथै, समितिमा रहने नाम पठाउन बोर्डले संघर्ष समितिलाई पत्र लेख्नुपर्ने समेत उनले बताए ।
कोइरालाको माग बमोजिम बोर्डले पत्र त लेख्यो तर पत्रको व्यहोरालाई लिएर आन्दोलनरत लगानीकर्ताहरु झनै आक्रोशित भए । उक्त पत्रमा कोइरालाले अनसन तोडेपछि मात्रै उक्त समिति गठन गर्ने व्यहोरा उल्लेख भएपछि लगानीकर्ताले यसमा षड्यन्त्र भएको आशंका गरेका हुन् ।
उक्त पत्रबारे धारणा सार्वजनिक गर्दै खनसनरत कोइरालाले भनेका छन्, ‘आमरण अनसन तोडेर आउँ अनि समाधान समिति गठन गरुला भन्दै पत्र पठाउने कस्तो षडयन्त्र हो ? समाधान नभएसम्म अनसन तोडिन्न ।’



