काठमाडौं । सरकारले खानेपानीको नयाँ गुणस्तर निर्धारण गरेको छ । खानेपानी मन्त्रालयले बिहीवार राजपत्रमा सूचना प्रकाशन गर्दै खानपानीको न्युनतम गुणस्तर निर्धारण गरेको हो । उक्त सूचनामा गुणस्तर मापनका १९ आधार प्रस्तुत गरिएको छ ।
मन्त्रालयले जलस्रोत ऐन २०४९ को दफा १८ को उपदफा १ बमोजिम खानेपानीको गुणस्तर परीक्षण अनिवार्य रुपमा गर्न निर्देशन दिएको छ । यसरी परीक्षण गर्दा धमिलोपन अधिकतम ५ एन.टी.यु, हाइड्रोजन विभव ६.५ देखि ८.५, रङ अधिकतम ५ टि.सि.यु र स्वाद र गन्ध आपत्ति जनाक हुन नहुने व्यवस्था रहेको छ ।
त्यस्तै, विद्युतीय संवाहकता अधिकतम १५ सय माइक्रोसिमेन्ट प्रति से.मी., फलाम अधिकतम ३ मिलिगा्रम , मेन्गानिज ०.२० मिलिग्राम र अर्सेनिक ०.०५ मिलिग्राम हुनुपर्ने व्यवस्था गरिएको छ ।
उता, फ्लोराइड न्युनतम ०.५० र अधिकतम १.५० मिलिगा्रम, आमोनिया अधिकतम १.५०मिलिग्राम , क्लोराइड अधिकतम २५० मिलिग्राम हुनपर्ने भएको छ भने सल्फेट अधिकतम २५० मिलिग्राम, नाइट्रेट अधिकतम ५० मिलिग्राम हुनुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै, तामा अधिकतम १ मिलिगा्रम, जस्ता अधिकतम ३ मिलिग्राम र आलमिनियम अधिकतम ०.२० हुनपर्ने व्यवस्था रहेको छ भने कुल कडापन अधिकतम ५०० मिलिग्राम, क्लोरिन अवशेष न्युनतम ०.१० र अधिकतम ०.५० मिलिग्राम हुनुपर्ने व्यवस्था गरिएको छ ।



