काठमाडौं । नेपाली सेनाले निकालेको विज्ञप्ती झुटो भएको प्रमाणित भएको छ । बुधबार सेनाले विज्ञप्ती जारी गर्दै नेपाली सेनाले अमेरिकासँग कुनै पनि सैन्य सम्झौता नगरेको दाबी गरेको थियो ।
तर, सन् २०१५ अक्टोबरमा तात्कालिन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपालस्थित अमेरिकी दुतावासलाई पत्र लेख्दै अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी हुन लेखेको औपचारिक पत्र सार्वजनिक भएको छ ।
उक्तपत्रमा यो प्रोग्रामले आपसी दीर्घकालीन सैन्य क्षमता र अनुभवको आदानप्रदान हुने विश्वास समेत लिइएको उल्लेख गरिएको छ ।
तर, बुधबारको विज्ञप्तीमा भने नेपालको विशिष्ट भू राजनीतिक र सामरिक संवेदनशीलतामा प्रतिकुल असर पर्नेगरी कुनै पनि सैन्य साझेदारी कसैसँग गर्न नहुने वस्तुगत यथार्थतामा सेना सदैव प्रष्ट रहेको उल्लेख गरिएको छ ।
नेपाली सेनालाई जनताले राष्ट्रियताप्रति प्रतिवद्ध र विश्वसनीय संस्थाको रुपमा बुझ्दै आएका थिए । सस्तो लोकप्रियताको लागि प्रचार नगर्ने र सामान्य आलोचनालाई समेत सुधारमार्फत् जवाफ दिने प्रवृत्तिका कारण सेनाप्रतिको विश्वास कायम रहन सफल भएको हो ।
बुधबार सेनाको विज्ञप्ती झुट सावित भएपछि भने सेनाप्रतिको विश्वसनीयतामाथि ठूलो प्रश्न खडा भएको छ । एसपीपी सही वा गलत भन्ने तर्क वितर्कबीच सेनाको झुट भने निरपेक्ष रुपमै अगाडि देखिएको छ ।



