images
images

श्रमिकको सुरक्षामा सरकार कटिबद्ध छ: गृहमन्त्री खाण


  • 282
    SHARES
  • २०७९ जेठ २९ गते आइतबार

    श्रमिकको सुरक्षामा सरकार कटिबद्ध छ: गृहमन्त्री खाण

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले श्रमिकको सुरक्षामा सरकार कटिबद्ध रहेको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले मजदुर र  श्रमिकको सुरक्षाका लागि गृह मन्त्रालय दत्तचित्त भएर लागिपर्ने उल्लेख गरेका थिए । 

    “गरिबीको रेखामुनि रहेका श्रमिकलाई कसरी सहज रुपमा अगाडि बढाउन सकिन्छ त्यही हाम्रो लक्ष्य हुनुपर्छ, श्रमिकको हक, हित र सुरक्षा गर्ने सरकारको मुख्य दायित्व हो,” मन्त्री खाणले भने । मुलुकमा राजनीतिक परिवर्तन भए पनि आम नागरिकको जीवनमा परिवर्तन ल्याउन नसकिएको उल्लेख गर्दै उनले आम नागरिकको जीवनमा परिवर्तन ल्याउन सबै लाग्नुपर्ने बताए । कोरोना महामारीमा श्रमिक र मजदुर ठूलो समस्यामा परेको उनको भनाइ थियो ।

    नेपालको प्रजातान्त्रिक आन्दोलनको जग नै मजदुर आन्दोलन भएको मन्त्री खाणले सो अवसरमा स्मरण गरेका थिए । “प्रजातान्त्रिक आन्दोलनभन्दा मजदुर आन्दोलन जेठो हो, प्रजातान्त्रिक आन्दोलन र मजदुर आन्दोलन एक सिक्काका दुई पाटा हुन्,” उनले भने ।

    कांग्रेस केन्द्रीय सदस्य रमा पौडेलले कांग्रेस सरकारको पालामा मजदुरका लागि सामाजिक सुरक्षा ऐन र श्रम ऐन आएको भन्दै यसलाई कार्यान्वयन गर्नु अहिलेको प्रमुख दायित्व भएको बताए । कांग्रेस केन्द्रीय सदस्य हरिशरण नेपालीले संविधानले श्रमिकको हकलाई मौलिक हकमा राखे पनि यो कार्यान्वयन नभएको गुनासो गरेका थिए ।

    अन्तर्राष्ट्रिय श्रमिक सङ्गठन (आइएलओ) का नेपाल प्रतिनिधि रिचार्ज हवाडले सामाजिक सुरक्षा श्रमिकको पहिलो अधिकार भएको उल्लेख गर्दै नेपालले सामाजिक सुरक्षा ऐन सुरु गरेको भन्दै खुसी व्यक्त गरे। संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष प्रेमलकुमार खनाल, जिफन्टका उपाध्यक्ष विदुर कार्की, अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष जगत सिंखडा, नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश २ का सभापति लक्ष्मण कुर्मी, नेपाल शिक्षक सङ्घका अध्यक्ष राजेन्द्र पौडेल, चियावगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङ, कृषि श्रमिक सङ्घका अध्यक्ष विमला गैरेलगायतले सामाजिक सुरक्षा ऐन र श्रमिक ऐन आएपनि श्रमिकको अधिकार सम्बोधन हुन नसकेको भन्दै मजदुर अधिकारका लागि सबै मजदुर सङ्गठन एकजुट भएर लड्नुपर्ने बेला आएको बताए ।

     

     


    images
    images

    Logo