काठमाडौं । काठमाडौं महानगरपालिकाको ११ औँ नगरसभा असार ५ गते बस्ने भएको छ । आइतबार बसेकोे नगर कार्यपालिकाको दोस्रो बैठकले काठमाडौंको प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृहमा सभा आह्वान गर्ने निर्णय गरेको हो । उक्त दिन दिउँसो ३ बजेका लागि सभा बाेलाइएकाे छ ।
कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाहले नगरसभाको आह्वान एक साताअघिनै गर्नुपर्ने व्यवस्था रहेको भन्दै सो दिनको लागि सभा बोलाउने प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमा सबै सदस्यले सहमति जनाएका थिए ।
स्थानीय तहले असार १० गते नगरसभामा बजेट प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था छ । यसको तयारीको लागि बजेट पेश हुनुभन्दा ५ दिन अघि नगरसभाको बैठक बोलाइएको हो । स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको यो पहिलो बैठक समेत हो ।