images
images

रेमिट्यान्सले ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ : अर्थमन्त्री


  • 274
    SHARES
  • २०७९ जेठ २९ गते आइतबार

    रेमिट्यान्सले ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् । आइएमई ग्रुप अन्तर्गतको रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको २२ औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले बैदेशिक मुद्रा प्राप्तीमा रेमिट कम्पनीको भूमिका उल्लेखनीय भएको बताएका हुन् ।

    ‘रेमिट्यान्सले ग्रामिण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ । यसले गरिबी निवारण गर्ने सरकारको पहलकदमीमा पनि धेरै मदत मिलेको छ’ उनले भने, ‘बिदेशमा रहेका नेपालीहरुको कमाई सुरक्षित रुपमा नेपाल पठाउने माध्यम रेमिट कम्पनीहरु बनिरहेका छन् ।’

    रेमिट्यान्सको ठूलो रकम उपभोगमा खर्च भइरहेको र आउँदा दिनमा ठूला पूर्वाधारमा लगानी केन्द्रित गर्नुपर्ने खाँचो रहेको उनले बताए । हुण्डी कारोबारलाई न्यूनीकरण गरी वैधानिक च्यानलबाट बिदेशमा रहेको नेपालीको रकम भित्र्याउन रेमिट्यान्स कम्पनीले गरेको योगदानको उनले प्रशंसा गरेका थिए ।

    आर्थिक बर्ष ०७९/८० को बजेटले पनि रेमिट्यान्सका माध्यमबाट बैदेशिक मुद्रा भित्र्याउने धेरै बिषयलाई सम्बोधन गरेको उनले जानकारी दिएका थिए । ‘बजेटले रेमिट्यान्सबाट आएको पैसा मात्रै ल्याउने उदेश्य राखेका छैन । अहिले सामान्य प्रणालीमा आइरहेको बैदेशिक मुद्रालाई एक कदम अघि बढेर विशेष रुपमा बिदेशी मुद्रा भित्र्याउने भनिएको छ ’ उनले भने, ‘यो भनेको हामीसँग भएको स्रोत, साधनको उत्पादन वृद्धि र प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने र बिदेशी मुद्राको आर्जन गर्ने भन्ने हो ।’

    आर्थिक बर्ष ०७९÷८० को बजेट आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितिकरणबाट समावेशीतातर्फको प्रस्थान भएकाले मुलुकको बर्तमान आर्थिक अवस्थालाई बिस्तारै समाधान गरी अघि बढ्ने विश्वास दिलाएका छन् । उनले औद्योगिक बस्तु र कृषि उपजसँगै सेवा क्षेत्रको समेत निर्यात थालनी गर्नेगरी बजेट आएको बताए । 

    कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले आइएमई लिमिटेडले बिदेशी मुद्रा भित्र्याउने सस्कृतिमा रुपान्तरण गरेको बताऐ । गाँस, बास र कपासका लागि रेमिट्यान्सको रकम बढी खपत भइरहेकोमा आउँदो दिनमा पुँजी निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘रेमिट्यान्सको पैसा व्यक्तिगत खपतमा बढी प्रयोग हुने गरेको देखिन्छ । पहिले त गाँस, बास र कपासको व्यवस्थापन नै गर्ने हो’ उनले भने, ‘आउँदा दिनमा भने रेमिट्यान्सको पैसा राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकतता छ ।’ 

    श्रम बेचेर पैसा कमाइरहेको परिस्थितिलाई परिवर्तन गर्ने गरी आगामी आबको बजेटले उत्पादन बेचेर बिदेशी मुद्रा आर्जन गर्ने लक्ष्य  राखेको बताए । कार्यक्रममा आइएमई ग्रुपका संस्थापक चन्द्रप्रसाद ढकालले एउटा कोठाबाट शुरु भएको आइएमई ग्रुपले ४० हजारलाई प्रत्यक्ष, अप्रत्यक्ष रोजगारी दिने स्थितिमा आइपुगेको जानकारी दिएका थिए । उनले बजेटमा आएका बिषयहरु कार्यान्वयनमा जाने हो भने देशको आर्थिक गतिविधि बढ्ने सुझाव दिए ।

     


    images
    images

    Logo