काठमाडौं । सुन्दरीजलबाट चाबहिलसम्मको ११ किलोमिटर दुरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि १ हजार ६ सय र १ हजार ८ सय डायमिटरमा पाइप बिच्छ्याउन थालिएको छ ।
दोस्रो चरणमा याङ्ग्री र लार्केको पानी पनि ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप बिच्छ्याउन थालिएको हो । पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलदेखि चाबहिलसम्म १ हजार ४ सय डायमिटरको पाइप बिच्छ्याइएको थियो । यो पाइपबाट दैनिक २२ करोड लिटर पानी पठाउन सकिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
दोस्रो चरणमा १ हजार ६ सय र १ हजार ८ सय डायमिटरको पाइप बिच्छ्याएपछि यसबाट दैनिक २९ करोड लिटर पानी ल्याउन सकिने भएको छ ।
सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रबाट साढे २ किलोमीटरसम्म १ हजार ८ सय डायमिटरको पाइप बिच्छ्याइने छ । साढे २ किलोमिटरभन्दा तल चाबहिलसम्म नै १ हजार ६ सय डायमिटरको पाइप बिच्छ्याइनेछ ।
याङ्ग्री र लार्केको पानी आउनुअघि नै पनि मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आउने भएपछि ठूलो आकारको पाइप बिच्छ्याइएको छ ।
वर्षाको समयमा एउटा खोलाबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी ल्याउन सकिने जनाइएको छ । याङ्ग्री र लार्केको पानी राजधानी ल्याउन तयारी सुरु भएकै बेला निर्देशनालयले भने पाइप बिच्छ्याउन थालिसकेको छ ।



