काठमाडौं । चाँगुनारायण नगरपालिकाका उपमेयर रमेश बुढाथोकीले आफूले नगरपालिकाबाट पाउने सबै सुविधा सामाजिक काममा लगाउने घोषणाको कार्यान्वयन सुरु गरेका छन् । जनप्रतिनिधिको रुपमा निर्वाचित भएलगत्तै यस्तो घोषणा गरेका बुढाथोकीले नगरपालिकाको तर्फबाट आफूलाई उपलब्ध गराइएको गाडी अस्पतालको उपयोगमा लगाएका हुन् ।
शुक्रबार बुढाथोकीले चाँगुनारायण नगरपालिकाले दिएको बा २ झ १६२३ नम्बरको गाडी चाँगुनारायण अस्पतालको प्रयोजनको लागि भन्दै हस्तान्तरण गरेका छन् । उक्त गाडी उनले नगर अस्पतालका प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गरेका हुन् । उक्त सवारी साधन बिरामी भएर घरमै बसेका र उपचारको लागि अस्पताल आउन नसक्ने बिरामीको उपचार प्रयोजनका लागि उपयोगी हुने उनले विश्वास व्यक्त गरे ।
‘म पहिलेदेखि अगाडिदेखि नै आफ्नै गाडी प्रयोग गर्दै आएको छु । अहिले नगरपालिकाले गाडी दिएको छ । यसलाई अस्पतालको काममा प्रयोग गर्दा धेरै बिरामीले राहत हुन्छ भनेर मैले हस्तान्तरण गरेको हुँ,’ उपमेयर बुढाथोकीले भने, ‘म जनताको सेवा गर्न जनप्रतिनिधि भएर आएको हुँ, सुविधा लिन होइन । त्यसैले आफूले पाउने सबै सुविधा नगरवासीकै लागि खर्च गर्ने घोषणा गरेको हुँ ।’

पाँच वर्षको तलब शिक्षा क्षेत्रमा
यसैबीच उपमेयर बुढाथोकीले आफ्नो ५ वर्षे कार्यकालमा प्राप्त हुने सबै तलब तथा सुविधाहरु शिक्षा र नगरवासीको वृत्तिविकासमा खर्च गर्ने घोषणा गरेका छन् । यसका लागि छुट्टै कोष खडा गरेका छन् । उक्त कोषमा जम्मा भएको रकम गरिब एवं जेहेन्दार विद्यार्थीको पठनपाठन एवं एकल महिला, अपांग एवं अशक्त व्यक्तिको वृत्ति विकासमा खर्च गर्ने उनको भनाइ छ ।
बुढाथोकी कार्यकालको सुरुमै तलबभत्ता सामाजिक काममा खर्च गर्ने घोषणा गर्ने विरल जनप्रतिनिधिमध्ये एक बनेका छन् । कार्यकालको अन्तिम चरणमा केही जनप्रतिनिधिले आफ्नो तलबभत्ता सामाजिक काममा लगाउने घोषणा गरे पनि यस्ता घोषणाहरुको उद्देश्य अर्को चुनाव प्रभावित गर्नु हुने गथ्र्यो । बुढाथोकीले भने निर्वाचित हुने बित्तिकै यस्तो घोषणा गरी कार्यान्वयन समेत सुरु गरिसकेका छन् ।



