काठमाडौं । शेयरबजार लगातार घट्ने क्रमसँगै धेरैजसो कम्पनीहरुको शेयर मूल्य पनि घट्दै गएको छ । बुधबार बजार परिसुचक २ हजार ३१ बिन्दुमा आउँदा म्युुचुअल फण्डको शेयर मूल्य पनि घट्दै गएको छ ।
म्युचुअल फण्डको अंकित मूल्य प्रति इकाइ १० रुपैयाँ तोकिएको छ । तर अहिले बजार घटेसँगै धेरैजसो फण्डहरुको मूल्य अंकित मूल्यभन्दा पनि कम मूल्यमा झरेको छ । नेप्सेको डाटा अनुसार २२ वटा म्युचुअल फण्डमध्ये १२ वटा फण्डको शेयरमूल्य अ्रकित मूल्य (१० रुपैयाँ) भन्दा तल झरेको देखिन्छ ।
अहिले कारोबार भइरहेका २२ फण्डमध्ये प्रति इकाइ १० रुपयाँभन्दा कम मूल्य हुने कम्पनीहरुमा मेगा म्युचुअल फण्ड, सनराइज ब्युचिफ फण्ड, सानिमा क्याप फण्ड, आरबीबी म्युचुअल फण्ड,प्रभु सेलेक्ट फण्ड, एनआईसी एसिया सेलेक्ट–३० फण्ड रहेका छन् ।
त्यस्तै, एनआईबीएल समृद्धी फण्ड –२, लक्ष्मी उन्नती कोष, लक्ष्मी इक्विटी फण्ड, कुमारी इक्विटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड–१ र सिटिजन्स म्युचुअल फण्ड –२ को मूल्य १० रुपैयाँभन्दा पनि कम रहेको छ ।
उक्त १२ वटा फण्डमध्ये सबैभन्दा कम मूल्य भएको कम्पनीमा मेगा म्युचुअल फण्ड रहेको छ । जसको मूल्य ७ रुपैयाँ ९३ पैसा रहेको छ । दोस्रोमा सनराइज ब्युचिफ फण्ड रहेको छ । यसको मूल्य ७ रुपैयाँ ९८ पैसा कायम छ । त्यसपछि एनआईसी एसिया सेलेक्ट फण्ड –३० को ८ रुपैयाँ १४ पैसा रहेको छ ।
यसरी १२ कम्पनीको शेयर मूल्य अंकित मूल्यभन्दा पनि तल झर्दा ३ कम्पनीको शेयरमूल्य भने ११ रुपैयाँभन्दा माथि रहेको छ । ११ रुपैयाँभन्दा माथि मूल्य भएका फण्डहरुका सानिमा इक्विटी फण्ड, एनएमबी हाइब्रिड फण्ड र सनराइज फण्ड –१ रहेका छन् जसको मूल्य अहिले बजारमा क्रमशः १२ रुपैयाँ १४ पैसा, ११ रुपैयाँ २१ पैसा र ११ रुपैयाँ ५ पैसा रहेको छ । अहिले बजारमा १२ रुपैयाँभन्दा माथि कुनै पनि फण्डको मूल्य पुगेको देखिदैन ।



