काठमाडौं ।सुरक्षा निकायले जतिसुकै कडाई गरेपनि सुन तस्करी रोकिएको छैन । त्यसको पछिल्लो ज्वलन्त उदाहरण हो, सोमवारको घट्ना । सो घट्नाले नेपालमा नयाँ नयाँ शैलीमा सुन तस्करी भइरहेको पुष्टि गरेको छ ।
पछिल्लो पटक उपत्यका अपराध अनुसन्धान कार्यालयले कपडामा फल्स बटम बनाएर ल्याउँदै गरेको सुनसहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चिनियाँ नागरिक नागरिक लोब्सान ग्याल्सेन, भारतीय नागरिक अमन राजपुतसहित पाँच नेपाली रहेका छन् ।
पक्राउ पर्ने नेपालीमा गुल्मीका सुरेशबहादुर शाही, कपिलवस्तुका सन्दिप चन्द ठकुरी, बाराका प्रकाश घलान, धनुषाका बरुनभक्त माथेमा, नवलपरासीका युवराज भुसाल छन् । कार्यालयका प्रबक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाद कोइरालाका अनुसार उनीहरुको साथबाट ८ सय ८६ ग्राम सुन बरामद भएको छ । कपडाभित्र लुकाएर राखिएको अवस्थामा सुन बरामद गरिएको कोईरालाले बताए ।



