नेपालबाट भारत बिजुली निर्यात सुरु
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली निर्यात गर्न सुरु गरेको छ । । बुधबार राति १२ बजेदेखि विद्युत प्राधिकरणले भारतमा विजुली निर्यात थालेको हो । प्राधिरकणका अनुसार त्रिशूली र देवीघाट जलविद्युत केन्द्रको बिजुली भारतका निर्यात गर्न थालिएको छ ।
अहिले प्राधिकरणले प्रतिदिन ९६ ब्लकमा नेपालबाट विजुली पठाउन सुरु गरेको छ । अहिले प्राधिकरणले प्रतिदिन ९६ ब्लकमा नेपालबाट विजुली पठाउन सुरु गरेको छ । प्रति १५ मिनेटलाई एउटा ब्लक मानिन्छ र प्रतिदिन ९६ ब्लक हुन्छन् । सोही अनुसार विजुलीको मूल्य पनि फरकफरक हुन्छ । आज औसतमा नेपालबाट भारतमा विजुली प्रतियुनिट ६.३० भारतीय रुपैयाँमा विक्री भइरहेको छ । यो मूल्य घटबढ भइरहन्छ ।
आन्तरिक उत्पादन बढ्न थालेसँगै प्राधिकरणले इण्डियन इनर्जी एक्सचेन्जमा ३९ मेगावाट बिजुली विक्री गर्न थालेको हो । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि १२ बजेसम्म भारतीय ऊर्जा बजारमा विक्री गरिने बिजुली मेगावाटसहित बिडमा प्रतिस्पर्धा गर्नेछ । विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युत्को प्रतियुनिट विक्री दर तय हुनेछ।
नेपालले कुल ३ सय ६४ मेगावाट बिजुली भारत निर्यात गर्न अनुमति पाएको छ । सोमध्ये अहिले ३९ मेगावाट निर्यात सुरु गरिएको छ भने आगामी दिनमा क्रमशः निर्यात बढाउँदै लैजाने प्राधिकरणले जनाएको छ ।



