काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानको मूल ढोका बन्द गरिएको छ । वर्षयाम सुरु भएसँगै सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी सुरुङको मूल ढोका मंगलबार प्राविधिकहरु बन्द गरेका हुन् ।
अघिल्लो वर्ष असार १ गतेको बाढीले क्षति गरेपछि मर्मत गरी गएको चैतमा पानी पठाउन थालिएको थियो । मर्मतपछि अस्थायी रुपमा काठमाण्डौमा पानी पठाउन थालिएको थियो । तर यस पटकको वर्षायाममा समेत बाढीरपहिरो आउन सक्ने र खानेपानी आयोजनाको मुहान क्षेत्रमा क्षति हुनसक्ने भएकाले पानी त्यसबाट जोगाउनकालागि सुरुङको ढोका बन्द गरिएको छ ।
बाढी आउन थालेपछि बन्द गरिएको सुरुङ कात्तिकमा खोल्न सकिने विश्वास गरिएको छ । वर्षमा सुरुङ बन्द राखियो भने वर्षमा कम्तिमा ८ महिना पानी खुवाउन सकिने आयोजनाको भनाइ छ ।
हाल काठमाडौंमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी ल्याइँदै आइएको थियो। वैशाख दोस्रो सातादेखि काठमाडौंका घर–घरमा पुनः मेलम्चीको पानी आउन थालेको थियो।



