काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा आज प्रस्तुत गरेको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज सो बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका हुन् । यही जेठ १३ गतेदेखि सुरु भएको प्रदेशसभाको बजेट अधिवेशनअन्तर्गतको पाँचौँ बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको हो ।
बैठकमा उनले प्रस्तुत गरेका नीति तथा कार्यक्रममा माध्यमिक विद्यालयमा १ विद्यालय १ नर्स कार्यक्रम प्रभावकारी बनाउने, उच्च शिक्षा अध्ययनका लागि छोरीबुहारी छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने, १ वडा १ पशु कार्यालय खोल्ने रहेको छ ।
त्यस्तै विद्युतीय सार्वजनिक सवारीसाधनको व्यवस्थापन गर्ने, स्मार्ट लाइसेन्सको व्यवस्था गर्ने, सार्वजनिक सवारी साधनको विद्युतीय सेवाका माध्यमबाट भाडाको व्यवस्थापन गर्ने, सडक निर्माण तथा विस्तारको कामलाई निरन्तरता दिने र यातायात क्षेत्रको व्यवस्थापनका लागि ट्राफिकसँग समन्वय गर्ने, प्रदेशस्तरीय खेलकूदको आयोजना गरिने नीति तथा कार्यक्रममा छ ।
साथै श्रम तथा रोजगारीको व्यवस्था, कृषिको विकास, कृषिको क्षतिपूर्तिलगायत मलखाद्यको व्यस्थापन, उद्योग कलकारखानाको विकास, संरक्षण र लगानीका विषयलाई कार्यक्रममा समेटिएको छ ।



