images
images

आठ महिनामा ३२५ किलोमिटर सडक कालोपत्र र ८० पुल सम्पन्न


  • 286
    SHARES
  • २०७९ जेठ १५ गते आइतबार

    आठ महिनामा ३२५ किलोमिटर सडक कालोपत्र र ८० पुल सम्पन्न

    काठमाडौँ ।  सरकारले चालू आर्थिक वर्षको ८ महिनामा ३ सय २५ किलोमिटर सडक कालोपत्र र ८० पुलको निर्माण सम्पन्न गरेको  छ । सरकारले शनिबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार गत फागुनसम्ममा २ सय ६५ किलोमिटर सडकखण्ड ग्राभेल भएको छ भने ९५ किलोमिटर मर्मत भएको छ । 

    हालसम्म १६ हजार ९ सय ३९ किलोमिटर कालोपत्र सडक र ८ हजार ८ सय २१ किलोमिटर कच्ची गरी सडकको लम्बाइ ३३ हजार ८ सय ७१ किलोमिटर पुगेको छ । गत असारसम्ममा १६ हजार ६ सय १४ किलोमिटर कालोपत्र, ८ हजार ७१ किलोमिटर खण्डस्थित र ८ हजार ९ सय ३१ किलोमिटर कच्ची सडक थियो ।  

    गत आर्थिक बर्षमा नै ४ सय ७२ किलोमिटर नयाँ माटे सडक निर्माण भएको उल्लेख छ । यो अवधिमा ७ सय ३९ किलोमिटर सडक ग्राभेल र १ हजार १ सय ९० किलोमिटरसडक कालोपत्रमा स्तरोन्नति भएको थियो । गत आर्थिक बर्षमा नै ७ हजार १ सय ८७ किलोमिटर सडक नियमित र पटके मर्मत र ४२४ किलोमिटर आवद्यिक मर्मत भएको थियो । गत आवमा १९२ पुल सम्पन्न भएको थियो । 

    फागुनसम्ममा नै प्रादेशिक र स्थानीयस्तरका कच्ची, ग्राभेल र कालोपत्र गरी ९२१ किलोमिटर सडक निर्माण भएर जम्मा ६४ हजार ६ सय १७ किलोमिटर सडक निर्माण भएको छ । गत असारसम्ममा कूल प्रादेशिक र स्थानीय सडकको लम्बाइ ६३ हजार ६९६ किलोमिटर रहेको थियो । 

    निर्मित सडकमध्ये कालोपत्रको अङ्स सात प्रतिशत, गाभ्रेलको २१ प्रतिशत र कच्ची सडकको ७२ प्रतिशत रहेको छ । निर्माण भएका कच्ची सडकको क्रमिकरुपमा स्तरोन्नति गर्नुपर्ने र विद्यमान सडक चौडा गर्नुपर्ने सर्वेक्षणमा बताइएको छ । 

    गत फागुनसम्म कूल सडकमध्ये हिमाली क्षेत्रमा १६ प्रतिशत, पहाडमा ५५ प्रतिशत र तराईमा २९ प्रतिशत रहेको थियो । राष्ट्रिय गौरवका आयोजनामध्ये मध्यपहाडी (पुष्पलाल) राजमार्ग ४४ किलोमिटर थपिएर १ हजार १ सय ५७ किलोमिटर पुगेको छ  । यहाँका १ सय २९ पुलमध्ये हालसम्म ९२ पुल निर्माण सम्पन्न भएका छन् । 

    हुलाकी राजमार्गमा यो अवधिमा ८१ किलोमिटर सडक र पाँच पुल निर्माण भएको थियो । उत्तर–दक्षिण करिडोरमध्ये कालीगण्डकी करिडोरमा यो वर्ष गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ६४ किलोमिटर कालोपत्र भएको थियो । मालढुङ्गा–बेनी जोमसोम कोरला १ सय ३२ किलोमिटर ग्राभेल र २५ किलोमिटर कालोपत्र भएको थियो । 

    कर्णाली करिडोरमा यो वर्ष सिमकोट–सरीसल्ला तीन किलोमिटर ट्र्याक थप भएर २६१ किमी ट्र्याक निर्माण भएको छ । कोसी करिडोरमा यो वर्ष थप ४ किलोमिटर ग्राभेल थपिएर ग्राभेल सडकको लम्बाइ ७२ किलोमिटर पुगेको छ ।  

    मदन भण्डारी राजमार्गमा गत फागुनसम्ममा थप चार किमीमा कालोपत्र भएर कालोपत्र सडक २ सय ४१ किमी पुगेको । जम्मा १ सय ८५ पुल निर्माण गर्नुपर्नेमा हालसम्म ७७ पुल सम्पन्न भएको छ । 

    प्रमुख व्यापारिक सडकमध्ये रानी–विराटनगर–इटहरी–धरान खण्डमा दुई किलोमिटर, जटही–जनकपुर–ढल्केबर खण्डमा एक दशमलव दुई किलोमिटर, वीरगञ्ज–पथलैया दुई दशमलव दुई किलोमिटर र मोहना–अत्तरिया खण्डमा ५ सय मिटर कालोपत्र सम्पन्न भएको छ । 

    स्थानीय पूर्वाधारअन्तर्गत गत फागुनसम्ममा नै २ सय १५ झोलुङ्गे पुल र ४ सडक पुल निर्माण भएको छ । हाल झोलुङ्गे पुलको सङ्ख्या ९ हजार ३ सय ८८ र सडक पुलको ६ सय २७ पुगेको छ । पहिचान भएका १ सय ४३ तुइनमध्ये १३४ तुइन झोलुङ्गे पुलद्वारा विस्थापित गरिएको जनाइएको छ । 

    १७ हजार १८ सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान

    यातायाततर्फ, सवारीसाधनमा चालू आर्थिक बर्षमा १७ हजार १८ सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ । हालसम्म १ लाख ३५ हजार ३ सय ४१ इम्बोस्ड नम्बर प्लेट उत्पादन भएर ८ हजार ३ सय ६७ सवारीसाधनमा जडान गरिएको छ । 

    चालू आर्थिक बर्षमा २ लाख ४६ हजार ६ सय ५२ सवारी चालक अनुमतिपत्र वितरण भएको छ । सार्वजनिक यातायातमा जिपिएस भेइकल ट्रयाकिङ प्रणाली लागू गर्न ३५ सार्वजनिक सवारीसाधनमा जडान गरिएको  छ ।  

    ५६ किलाेमिटर रेलमार्ग सम्पन्न, रेल सञ्चालन सुरु

    रेल यातायातमा जयनगर–जनकपुर–कुर्था–विजलपुरा रेलमार्ग र बथनाहा–विराटनगर रेलमार्गमा नेपालतर्फको ७९ किलोमिटरमध्ये हालसम्म ५६ किलोमिटर सम्पन्न भइसकेको छ । 

    चालू आर्थिक बर्षमा नै जयनगर–कुर्था रेलमार्ग सञ्चालनमा ल्याइएको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गको बर्दिवास–निजगढ खण्डमा चालू आर्थिक बर्षमा १.५ किलोमिटर ट्र्याक–बेड निर्माण भएको छ । हाल ट्र्याक–बेडको लम्बाइ ५०.५ किलोमिटर पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजनाको ९ सय ४५ किलोमिटर को विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । 

    जलयातायात सञ्चालनका लागि सम्भाव्यता अध्ययन 

    जलयातायात सञ्चालनका लागि सम्भाव्यता अध्ययन भएको छ । हालसम्म कर्णाली नदी (खक्रौला–खिमडी) १ सय १५ किलोमिटर, कालीगण्डकी (राम्दी–देवघाट) ९५ किलोमिटर, कोशी नदी (चतरा–तुम्लिङटार) ७५ किलोमिटर, नारायण नदी (देवघाट–गण्डक) ८५ किलोमिटर, त्रिशूली (देवघाट–मुग्लिन) २२ किलोमिटर, सुनकोसी नदी (अरुण दोभानदेखि माथि) २२ किलोमिटरमा आन्तरिक जलमार्गमा जलयान सञ्चालनसम्बन्धी सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । 


    images
    images

    Logo