images
images

अन्तर्राष्ट्रिय कारणले इन्धनको मूल्य वृद्धि भयोः मन्त्री बडू


  • 445
    SHARES
  • २०७९ जेठ १३ गते शुक्रबार

    अन्तर्राष्ट्रिय कारणले इन्धनको मूल्य वृद्धि भयोः मन्त्री बडू

    काठमाडौं । सरकारले रुस र युक्रेनबीच युद्धका कारण अन्तर्राष्ट्रियस्तरमा नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले आन्तरिकरुपमा पनि मूल्य बढेको स्पष्ट पारेको छ ।

    नेपाल र भारतबीच भएको सम्झौताअनुसार नै सरकारी स्वामित्वको नेपाल आयल निगमले इन्धन खरिद गरिरहेको जानकारी दिँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षको १० महिनामा मात्रै १ खर्ब रुपैयाँ बढीको आयात भएको बताए ।

    प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ सभामुखसँग समय लिएर मन्त्री बडूले चालु आर्थिक बषको १० महिनामा २ अर्ब ३८ करोड लिटर पेट्रोलियम पदार्थ र ६८ मेट्रिक टन खाना पकाउने ग्यास खरिद गरिएको जानकारी दिए । मन्त्रिपरिषद्को यही जेठ १० गतेको बैठकले कर समायोजन गर्ने निर्णय गरेको र सो प्रस्ताव अर्थमन्त्रालयमा विचाराधीन रहेको उनले बताए ।

    विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि उच्चस्तरीय कार्यदल गठन गरिएको छ । सो कार्यदलको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुनुहुन्छ । समितिमा सरोकारवाला निकायका प्रतिनिधि सदस्य छन् ।

    निगम निजीकरणको प्रचार शतप्रतिशत गलत

    सरकारले नेपाल आयल निगमलाई निजीकरण गर्न लागेको भन्ने प्रचार गलत रहेको र शतप्रतिशत झुटो रहेको मन्त्री बडूले बताए । उनले गलत प्रचार नगर्नसमेत आग्रह गरे । मन्त्री बडूले पेट्रोलियम पदार्थको आयात तथा बिक्री वितरण गर्न निजी क्षेत्रलाई दिन लागिएको भन्ने प्रचार गलत रहेको र गलत हल्लाका पछाडि नलाग्न आग्रह गरे। उनले निगमलाई बढी व्यवस्थित बनाउन लागिएको उल्लेख गरे ।

    ओलीको टिप्पणी गलत भनेपछि एमाले सांसदको आपत्ति

    बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता केपी शर्मा ओलीले गर्नुभएको टिप्पणीप्रति सरकारको ध्यानाकर्षण भएको मन्त्री बडूले बताए । निगमलाई वित्तीय, व्यस्थापकीय सुधार गरेर आयातलाई सहज बनाउने उद्देश्यले सरकारले प्रक्रिया अगाडि बढाएको उनले उल्लेख गरे ।

    प्रमुख प्रतिपक्षी दलका नेताले आधारहीन वक्तव्य दिएको भन्दै मन्त्री बडूले सत्ता गुमाउनुपर्दाको पीडा पूर्वप्रधानमन्त्री ओलीको तर्फबाट बिहीबार संसद्मा प्रस्तुत भएको उल्लेख गर्नुभयो । मन्त्रीको उक्त वक्तव्य आएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरु खगराज अधिकारी र विशाल भट्टराईले आपत्ति जनाएका थिए ।

    मन्त्री बडूले बिहीबार प्रमुख प्रतिपक्षी दलका नेताले निगम निजीकरण गर्न लागिएको र कमिसन खान लागेको भन्नेजस्ता टिप्पणी शतप्रतिशत गलत रहेको पुनः दोहोर्याए ।

    एमाले सांसदले विरोध जनाएपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । मन्त्री बडूले निगम पछिल्लो समय ४७ अर्ब रुपैयाँ घाटामा भएको र भारतीय आयल कर्पोरेशनलाई २२ अर्ब ४० करोड रुपैयाँ तिर्न बाँकी रहेको जानकारी दिए ।  


    images
    images

    Logo