काठमाडौं । नेपाल राष्ट्र बैंकले तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । बैंकले ४/१२ नीति कायमै राखेको छ । बैंकले विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनरकर्जा दरहरुलाई यथावत राखेको छ ।
बैकले मूल्य तथा बाह्य क्षेत्र स्थायित्वलाई मध्यनजर गरी उत्पादनशील लगायतका क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन जोड दिने भएको छ । यसका साथै सर्वसाधारण सेयर बजारमा ४/१२ नीति, आयातमा शतप्रतिशत मार्जिन खुकुलो बनाउने तथा नीतिगत ब्याजदर कम गर्ने अपेक्षा राखिएको छ ।
मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिने बताएको छ । चालु आर्थिक वर्षको नौ महिनासम्म औसत उपभोक्ता मुद्रास्फीति लक्षित सीमाभित्र रहेको छ ।
काेभिड संक्रमणका कारण प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि यस बैंकले प्रदान गर्दै आएको पुनरकर्जा सुविधालाई पुनरुत्थान हुन बाँकी रहेका अति प्रभावित क्षेत्रमा सीमित गर्दै लैजाने विद्यमान नीतिलाई निरन्तरता दिइएको छ ।
समीक्षा अवधिमा आयातमा उल्लेख्य वृद्धि भएको र विप्रेषण आप्रवाह स्थिर रहेका कारण बाह्य क्षेत्र दबाबमा परेको छ । बाह्य क्षेत्रतर्फको चालु खाता तथा शोधनान्तर घाटा बढेको छ भने विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता घटेको छ ।



