काठमाडौ । सप्तरीको एक नगरपालिकामा उमेदवार बन्ने अघिल्लो दिन पार्टी प्रवेश गरेका एक उमेदवार नगर प्रमुखमा निर्वाचित भएका छन् । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा सीके राउत नेतृत्वको जनमत पार्टीबाट उमेदवार बनेका वीरेन्द्र माझी निर्वाचित भएका हुन् ।
माझीले जनता समाजवादीका उमेदवार एवं निवर्तमान मेयर शैलेशकुमार साहलाई पछाडि पार्दै मेयरमा निर्वाचित भएका हुन्। माझीले ६ हजार ४ सय ७ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी साहले ६ हजार २ सय ४६ मत प्राप्त गरे । ०७४ सालको स्थानीय तह निर्वाचनमा माझी साहसँग पराजित भएका थिए । त्यतिबेला माझी तात्कालीन फोरमबाट उम्मेदवार थिए भने साह तत्कालीन राजपाबाट उम्मेदवार भई जितेका थिए ।
राजपा र फोरम एक भई जसपा निर्माण भएको र फेरि लोसपा बनेपछि दुवै जनाले जसपा नै रोजेका थिए । जसपाले यसपटक साहलाई उम्मेदवार बनाउने निर्णय गरेपछि माझी मनोनयनको एक दिन अगाडि मात्र जनमत पार्टी प्रवेश गरेका थिए ।माझी सिके राउत नेत्रीत्वको जनमत पार्टीबाट निर्वाचित पहिलो मेयर समेत बनेका छन् ।



