काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार प्रकाश अधिकारी निर्वाचित भएका छन् । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा काँग्रेसकी उम्मेदवार रजनी थापालाई झिनो मतान्तरले पराजित गर्दै दोस्रो कार्यकालयका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् ।
निर्वाचित अधिकारीले १० हजार ३ सय ४० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका थापाले १० हजार १ सय ६६ मत प्राप्त गरेका टोखाका निर्वाचन अधिकृत सविता शर्माले राससलाई जानकारी दिए । अधिकारी र थापाको मतान्तर १ सय ७४ रहेको थियो ।
यस्तै उपप्रमुखमा कांग्रेसका उम्मेदवार मुरारी तामाङ निर्वाचित भएका छन् । विजयी तामाङले १० हजार १ सय ३२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ज्ञानमाया डङ्गोलले नौ हजार ५ सय १८ मत प्राप्त गरे । उपप्रमुखमा पराजित डङ्गोल अघिल्लो कार्यकालमा टोखाको उपप्रमुख थिए । कूल ३४ हजार ६ सय ७६ मतदाता रहेको टोखामा २५ हजार ५ सय ६३ मत खसेको थियो । काठमाडौँको उत्तरी क्षेत्र नुवाकोटसँग जोडिएको उक्त नगरपालिकामा ११ वडा रहेका छन् ।



