काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको प्राथमिकताबारे संसदलाई ब्रिफिङ गरेका छन् , आजदेखि सुरु भएको संसदको बजेट अधिवेशनमा उनले १० पृष्ठ लामो सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका हुन् ।
नयाँ बजेटले कृषिको उत्पादन विकासलाई मुख्य प्राथमिकतामा राख्ने अर्थमन्त्रीले बताए । त्यस्तै, औद्योगिक विकास र निजी क्षेत्रको प्रवद्र्धन, पूर्वाधार क्षेत्रको विकास, उर्जाको विकास, पर्यटन क्षेत्रको पुनरुत्थानका लागि समेत बजेटले विशेष व्यवस्था गर्नेछ ।
अर्थमन्त्रीले आयात घटाउने, निर्यात प्रवर्द्धन गर्ने र आत्मनिर्भर अर्थतन्त्र विकासमा केन्द्रित हुने भएको छ । यसका लागि विदेशी लगानी भित्र्याउने, निजी क्षेत्रमैत्री नीति ल्याउने, करको दायरा विस्तार गर्नेदेखि स्वदेशमै उत्पादन सम्भव भएको कृषिजन्य वस्तुको उत्पादनमा जोड दिइनेछ ।
कृषि र उद्योग प्रवर्द्धन गर्दै तुलनात्मक लाभका क्षेत्रलाई सरकारले बजेटमा सम्बोधन गर्ने भएको छ । राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरुलाई समयमै सम्पन्न गर्ने समेत प्राथमिकतामा राखिएको छ ।



