काठमाडौं । सरकारले एक प्रदेशदेखि अर्को प्रदेशसम्म चल्ने सवारी साधनको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले भोलिदेखि लागु हुनेगरी यात्रुबाहकमा ३.५ प्रतिशत, पहाडी बाटोमा चल्ने (मालवाहक) सवारीमा मा ४.६ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ५.१ प्रतिशत भाडादर वृद्धि गरेको हो ।
इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणलीअनुसार स्वचालित रूपमा अन्तर प्रदेश यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था गरेको थियो । पछिल्लो समायोजनमा आधार लिइएको मूल्यभन्दा १०.८६ प्रतिशत पुगेकाले दुई वा सो भन्दा बढी प्रदेश भइ (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने यातायातको भाडादर स्वचालित प्रणालीअनुसार समायोजन गरेको विभागले जनाएको छ ।
तराईको लामो दूरी (२५० किमि भन्दा बढी) पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस र मिनिबसका लागि साविक प्रतिव्यक्ति २.६७ रुपैयाँ रहेकोमा बुधबारदेखि २.७६ पैसा कायम गरिएको हो । यस्तै २५ किमि देखि २५० किमि प्रतिव्यक्ति २.७६ रुपैयाँ रहेकोमा अब २.८३ रुपैयाँ भाडादर कायम गरिएको विभागले जनाएको छ ।
विभागले काठमाडौं–पोखरा र पोखरा–नारायणघाट खण्डको प्रति व्यक्ति २.९४ पैसा कायम भएकोमा अब ३.०४ भाडादर कायम गरिएको छ ।



