काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा काँग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार २ सय २३ मत ल्याएर विजय भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रामेश्वर बोहोराले ७ हजार ३ सय ५९ मत प्राप्त गरेको सो नगरपालिकाका निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिए । यस्तै नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार लवकुमार बस्नेतले २ हजार २ सय ६ मत प्राप्त गरेका छन् ।
यस्तै उपप्रमुखमा काँग्रेसकै उम्मेदवार सिर्जना बुर्लाकोटीले १० हजार २ सय २४ मत प्राप्त गरी विजयी भएकी छिन् । उनको निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार भवानी डोटेललाई सात हजार ५ सय ६३ मत प्राप्त भएको निर्वाचन अधिकृत पोखरेलले बताए । यस्तै उपप्रमुखमा माओवादीका उम्मेदवारले दुई हजार ६ सय ९५ मत प्राप्त गरेका छन् ।
कूल ११ वडा रहेको तारकेश्वरमा ३५ हजार ८२ मतदाता रहेकामा २६ हजार ७ सय २ मत खसेको थियो । खसेको मतमध्ये प्रमुख पदमा दुई हजार ४ सय १० र उपप्रमुख पदमा दुई हजार ९ सय ६३ मत बदर भएको निर्वाचन अधिकृत पोखरेलले बताए ।



