काठमाडौं । संघीय संसदको प्रतिनिधिसभामा आजदेखि बजेट अधिवेशन सुरु हुँदैछ । बजेट ल्याउनुपर्ने जेठ १५ गतेको निर्धारित मिति नजिकिँदैगर्दा सरकारले ढिलोगरी आज बजेट अधिवेशन बोलाएको हो ।
आज अपराह्न ४ बजे संघीय संसद भवनमा बैठक बोलाइएको छ । उक्त बैठकमा राष्ट्रपति कार्यालयबाट जारी गरिएको अधिवेशन सभामुखले बोलाउने पत्र पढेर सुनाउने, यसअघि हेरफेर गरिएको मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने यसअघि जारी भएको २ अध्यादेशहरु पेश गर्ने कार्यतालिका छ ।
त्यसलगत्तै प्रिबजेट छलफल प्रारम्भ हुनेछ । सभामा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहेको छ । सभामुखको राजीनामा वा एकीकृत समाजवादीका १४ जना सांसदमाथिको कारबाही कार्यान्वयनको माग राख्दै आएको एमाले आजको बैठकमा पनि नाराबाजीमा उत्रिने संकेत देखिएको छ ।



