काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म १ सय ३० वटा पालिकाको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते विभिन्न कारणले निर्वाचन अवरुद्ध भएका २९ र उम्मेदवारको मृत्यु भएका कारणले जेठ ३ गते निर्वाचन हुने दुई स्थानीय तह र गोरखाको चुम्नुब्री गाउँपालिकाबाहेक अन्य सबै पालिकामा मतगणना कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
आज अपराह्न ३ः३० बजेसम्म आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रमुख १३, अध्यक्ष १ सय १७, उपप्रमुख १३, उपाध्यक्ष १ सय १७, वडाध्यक्ष दुई हजार ६ सय ७९, वडा सदस्य पाँच हजार ३ सय १८, महिला वडा सदस्य दुई हजार ६ सय ७८, दलित महिला सदस्य दुई हजार ६ सय ४७ गरी कूल १३ हजार ५ सय ८२ जना उम्मेदवार (निर्विरोध समेत) निर्वाचित भएका छन् । कूल ७ सय ५३ पालिकामा गरी ३५ हजार २ सय २१ पदका रहेका छन् ।
गणना कार्यमा ढिलाइ भएको सम्बन्धमा पत्रकारहरूले सोधेको प्रश्नमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ६४ लहरसम्मको ठूलो मतपत्र हुनु, महानगरलगायत धेरै मतदाता रहेका स्थानमा जनशक्ति, सीसी क्यामरालगायतको व्यवस्थापनका कारणले ढिलाइ भएको र यसबारे आयोगले थप निर्णय गरी गणना छिटो सक्न आग्रह गरेको बताए।
विभिन्न कारणले मतदान अवरुद्ध भएका मतदान केन्द्रमध्ये आज धनकुटा जिल्लाको शहीदभूमि गाउँपालिका वडा नम्बर ६ को ठाकुरदेवी मावि, सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ५ को गाविस भवन, रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय भवन, सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ३ को भगवती मावि, बझाङको केदारस्यूँ गाउँपालिका वडा नम्बर ४ को जगन्नाथ उच्च मावि, बझाङको सुर्मा गाउँपालिका वडा नम्बर २ को आदारबगर मावि र बझाङकै सुर्मा गाउँपालिका वडा नम्बर ३ कृष्ण प्रावि मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गले मतदान भएको छ ।
स्थगन भएकामध्ये जेठ ३ गते काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं. १३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नं १० को विजय मावि मतदान केन्द्र, बाजुराको बूढीनन्दा नगरपालिकाको वडा नं ८ को पिस क्रियटर एकेडेमी मतदान केन्द्र र अछामको पञ्चदेवल विनायक नगरपालिकाको वडा नं ५ को नवज्योति मावि मतदान केन्द्रमा मतदान हुने तय भएको छ ।
यसैगरी जेठ ४ गते तनहुँको व्यास नगरपालिकाको वडा नं. ८ को गाविस भवन फेदी मतदान केन्द्रमा पुनः मतदान हुँदैछ । पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिनभित्रमा मतदान गर्ने गरी सूचना प्रकाशन हुने आयोगका प्रवक्ता पौडेलले जानकारी दिए । आयोगले मतगणनाको परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने व्यवस्था गरेको छ ।



