काठमाडौं । सम्पति विवरण नबुझाउने १८ हजार १ सय ७० जना अख्तियारको फन्दामा परेका छन् । उनीहरुले आर्थिकबर्ष २०७७/७८ मा बुझाउनुपर्ने सम्पति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।
केन्द्रका सचिव सुशीलचन्द्र तिवारीले ६ लाख ९६ हजार ६ सय २४ जनाको तथ्याङ्क प्राप्त भएकामा सम्पत्ति विवरण बुझाउने पदाधिकारी तथा कर्मचारीको सङ्ख्या ६ लाख ८१ हजार २ सय १५ जना रहेको जानकारी दिँदै १५ हजार ४ सय ९ जनाले भने विवरण नबुझाएको बताएका छन् ।
केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०७६–७७ मा सम्पत्ति विवरण बुझाउने कर्मचारी तथा पदाधिकारीको सङ्ख्या ६ लाख ५० हजार १ सय २८ जना र नबुझाउनेको सङ्ख्या १८ हजार १ सय ७० जना थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७–७८ मा थप ३१ हजार ८७ जनाले सम्पत्ति विवरण बुझाएको पाइएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७७/७८ मा सङ्घीय, प्रादेशिक तथा स्थानीय तहका सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले सम्पत्ति विवरण पेस गरेको केन्द्रले जनाएको छ । सम्पत्ति विवरण पेस नगर्ने कर्मचारीको सङ्ख्या मध्ये निजामती तर्फ २ हजार ४ सय ८४, नेपाल प्रहरीतर्फ ३० जना, विद्यालय शिक्षक ५ हजार १६ जना, अन्यतर्फ २ हजार २ सय ६७ जना, प्रदेशका ५ सय ७४ जना र स्थानीय तहका ५हजार ३८ जना रहेको बताएका छन् ।
केन्द्रले आर्थिक वर्ष २०७६÷७७ को सम्पत्ति विवरण पेस नगर्ने सार्वजनिक पद धारण गरेका व्यक्तिबाट कानुन बमोजिम २ करोड ३३ लाख रुपैयाँ असुल गरिएको र यो कार्य जारी रहेको केन्द्रले जनाएको छ ।
यसका साथै राष्ट्रिय सतर्कता केन्द्रले पेस गरेको प्रतिवेदन अनुसार सम्पत्ति विवरण नबुझाउने कर्मचारीहरू तर्फ नेपाल सरकारका विभिन्न निकायका विशिष्ट श्रेणीका कर्मचारीदेखि कार्यालय सहयोगीहरू सम्म तथा पदाधिकारीहरू तर्फ प्रमुख–उपप्रमुख देखि गाउँ–नगर सभा सदस्यहरू सम्म रहेको छन् ।



