images
images

प्रविधिमैत्री बन्दै आयोग : सबै मतगणनास्थलमा सीसी क्यामरा जडान गर्न निर्देशन


  • 400
    SHARES
  • २०७९ बैशाख २६ गते सोमबार

    प्रविधिमैत्री बन्दै आयोग : सबै मतगणनास्थलमा सीसी क्यामरा जडान गर्न निर्देशन

    काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति अख्तियार गरेको छ । सोही क्रममा आयोगले निर्वाचन आचारसंहितालाई पनि कडाइका साथ लागू गरिरहेको छ ।

    नेपालको संविधान घोषणा भएपछि हुन लागेको दोस्रो निर्वाचनले संविधान कार्यान्वयन गर्ने र लोकतन्त्रलाई अझै परिस्कृत गर्दै लैजानेमा धेरै मतैक्य छ । सोही क्रममा आयोगले स्थानीय तह निर्वाचनका लागि ७ सय ५३ वटै स्थानीय तहका मतगणनास्थलमा अनिवार्य रुपमा क्लोज सर्किट क्यामेरा (सीसी क्यामेरा) को प्रबन्ध गरेको छ ।

    मतगणनाको क्रममा हुने अवाञ्छित गतिविधि रोक्न र विवाद कम गर्ने उद्देश्यका साथ  सिसी क्यामेराको प्रबन्ध गरिएको हो । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको हो ।

    सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरेको थियो । आज या भोलिसम्म सबै पालिकामा त्यस्तो क्यामेरा जडान भइसक्नेछ । कूल ३ सय ५० पालिकामा यसअघि नै सिसी क्यामेरा जडान भइसकेको छ । 

    त्यस्तै ५० पालिकाले आफुखुसी आयोगको भीएमएस सिस्टमसँग जडान नहुने सिसी क्यामेरा जडान गरेको पाइएकाले त्यसलाई पनि सोही प्रणालीमा जडान हुने गरी क्यामेरा प्रबन्ध गर्न भनिएको छ । त्यस्तो कार्य वैशाख २९ गतेसम्म पूर्णरुपमा सम्पन्न गर्न निर्देशन दिइएको छ ।

    आयोगले जिल्ला प्रशासन कार्यालय, स्थानीय तहका निर्वाचन अधिकृतलाई त्यस्तो निर्देशन गरेको हो । सबै मतगणनास्थलको प्रत्यक्ष दृश्य आयोगको बहादुरभवनस्थित कार्यालयबाटै हेर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ । यसबाट निर्वाचनको विश्वसनीयतामा समेत वृद्धि हुने र कुनै अवाञ्छित गतिविधिले प्रश्रय नपाउने विश्वास लिइएको छ ।

    आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले यसअघि नै कुनै कुनै पालिकामा उक्त क्यामरा राख्नैपर्ने नपर्ने भनेर सोधनी भएको उल्लेख गर्दै आयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने र राख्न नचाहनुको अर्थ त्यहाँ कुनै गडबडी गर्न लागिएको त होइन ? भन्ने प्रश्न उत्पन्न भएको बताएका थिए ।

    गत निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका र केही पालिकामा मतगणनामा विवाद हुँदा केही वडामा पुनःमतदानसमेत भएको थियो । निर्वाचनका लागि कूल १० हजार ७ सय ५६ मतदानस्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनका लागि कूल एक करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन् । 

    स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमा वयस्कको संख्या  उल्लेख्य रहेका छन् । आयोगका अनुसार ३५ देखि ५० वर्ष समूहका उम्मेवारको संख्या ७६ हजार १ सय ६२ छ ।  सो उमेर समूहका ३९ हजार ६ सय ६९ पुरुष र २७ हजार ४ सय ९३ महिला उम्मेदवार छन् । एक्काइसदेखि ३५ वर्ष उमेर समूहका १८ हजार ७ सय ८० पुरुष र १६ हजार ४ सय ७८ महिला गरी कुल ३५ हजार २ सय ५८ उम्मेदवार छन् । यसैगरी ५१ देखि ६५ वर्ष उमेर समूहका उम्मेदवारको संख्या ३७ हजार ५४ छ । सो उमेर समूहमा २६ हजार ५ सय १५ पुरुष र १० हजार ५३९ महिला छन् ।

    यस्तै ६५ वर्ष माथिका ४ हजार ३ सय ५० पुरुष र १ हजार १७७ महिला गरी पाँच हजार ५ सय २७ उम्मेदवार रहेका छन् । यही वैशाख ३० गते ७ सय ५३ स्थानीय तहका कूल ३५ हजार २ सय २१ पदका लागि निर्वाचन हुँदैछ । 

    निर्वाचनमा कूल १ लाख ४५ हजार १० उम्मेदवार छन् । नगरपालिका प्रमुखमा ३ हजार २ सय ३८, उपप्रमुखमा एक हजार ९ सय ६४, गाउँपालिका अध्यक्षमा तीन हजार ९२ र उपाध्यक्षमा दुई हजार १६३ जनाको उम्मेदवारी कायम भएको छ । यस्तै वडाध्यक्षमा ३२ हजार ४ सय ९६, सदस्यमा ५३ हजार १ सय ७३, महिला सदस्यमा २५ हजार ५ सय ९९ र दलित महिला सदस्यमा २३ हजार २ सय ८५ जनाको उम्मेदवारी परेको छ ।


    images
    images

    Logo