काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले आज गरेको सिफारिसअनुसार उक्त दिन दुवै सदनको अधिवेशन आह्वान गरेको हो ।
राष्ट्रिपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/१/२५ को सिफारिसमा संवत् २०७९ साल जेठ ३ गते मङ्गलबारका दिन १६ः०० अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।”
जेठ १५ गते सरकारले बजेट पेश गर्ने संवैधानिक व्यवस्था छ । यसअघि हुने पूर्वबजेट छलफल, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत र छलफलका लागि संसदको अधिवेशन आह्वान गरिएको हो ।



