images
images

वर्षायामको २०० मेगावाट विद्युत भारतमा बेच्न टेण्डर आह्वान


  • 453
    SHARES
  • २०७९ बैशाख २३ गते शुक्रबार

    वर्षायामको २०० मेगावाट विद्युत भारतमा बेच्न टेण्डर आह्वान

    काठमाडौं ।   नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत भारतमा प्रतिश्पर्धी दरमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ । प्राधिकरणले शुक्रबार टेण्डर आह्वान गर्दै नेपालका जलविद्युत आयोजनाहरुबाट उत्पादित २०० मेगावाट विद्युत बिक्रीका लागि भारतीय कम्पनीहरुसँग प्रस्ताव माग गरेको हो ।

    प्राधिकरणले देशभित्र खपत गरी  जगेडा भएकाे विद्युत पाँच महिना अर्थात १७ असारदेखि २९ कात्तिक २०७९ सम्म बिक्री गर्ने छ । भारतको केन्द्रीय विद्युत नियमन आयोगमार्फत विद्युत व्यापारका लागि अनुमति प्राप्त टे«डिङ कम्पनीहरु, विद्युत वितरण कम्पनीहरुलगायतले बिद्युत खरिदका लागि प्रतिश्पर्धामा सहभागी हुन पाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

    ‘भारतीय बजारमा ३ सय ६४ मेगावाटसम्म विद्युत बिक्रीका लागि स्वीकृति पाएका छौं, त्यसमध्ये २ सय  मेगावाट प्रतिश्पर्धामार्फत जसले बढी दर कबोल गर्छ उसैलाई बिक्री गर्ने गरी टेण्डर आह्वान गरेका हौं’, कार्यकारी निर्देशक घिसिङले भने । ‘बाँकी रहेको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)मा बिक्री गर्ने छौं, टेण्डरको सम्पूर्ण प्रक्रिया पूरा गरी १ जुलाईबाट छनोट भएका योग्य कम्पनीहरुलाई विद्युत उपलब्ध गराइने छ ।’

    नेपालबाट विद्युत खरिद गर्न इच्छुक कम्पनीहरुले आगामी १३ जेठ मध्यान्ह् १२ बजेसम्ममा प्रस्ताव पेश गर्न सक्नेछन् र सोही दिन दिउँसो १ बजे प्रस्ताव खोलिने छ । 

    ईच्छुक कम्पनीले ५० मेगावाटभन्दा कम खरिदका लागि प्रस्ताव पेश गर्न नसक्ने व्यवस्था गरिएको छ । कम्पनीहरुले आफूले प्रस्ताव गरेको परिमाणको प्रति मेगावाट ३० हजार भारतीय रुपैयाँ (४८ हजार रुपैयाँ) प्रतिमहिना ‘अर्नेस्ट मनी डिपोजिट’ गर्नु पर्ने छ ।

    भारतले नेपालका ६ वटा विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ । देशभित्र खपत गरेर जगेडा भएको विद्युत ढल्केबर–मुजफ्फपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत  निर्यात हुने छ । 

    नेपालले प्राधिकरणको स्वामित्वका  त्रिशूली, देवीघाट, कालीगण्डकी ‘ए’,मध्यमस्र्याङ्दी, मस्र्याङ्दी र निजी क्षेत्रको ग्रिन भेन्चर्स लि.को लिखु–४बाट उत्पादित ३ सय ६४ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ ।


    images
    images

    Logo