काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको उच्च पदमा पदोन्नति गर्ने सरकारको आइतबारको निर्णयसँगै प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दज्र्यानी चिह्न प्राप्त गरी आजैदेखि कार्यभार सम्हाल्न थालेका छन् ।
दर्जाप्राप्त गरेकै दिन आज सीमा तथा अन्य विविधअपराध नियन्त्रण गरी मुलुकको शान्ति सुरक्षा तथा नागरिकलाई अमनचयनको वातावरण सिर्जना गर्ने जिम्मेवारी प्राप्त दुई संस्थाको नेतृत्व लिन सफल महानिरीक्षकद्वयले सङ्गठनलाई व्यक्ति भन्दा नीति, पद्दति र सिद्धान्तबाट निर्देशित रहेर अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
नेपाल प्रहरीमा महानिरीक्षकको २२ महिने कार्यकाल पूरा गरी ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण शैलेश थापा क्षेत्रीले र महानिरीक्षकको १९ दिने कार्यकाल पूरा गरी सोही सेवावधिका कारण सशस्त्रका पुष्पराम केसीले गएराति १२ बजेदेखि लागू हुनेगरी अवकास लिएपछि रिक्त रहेको महानिरीक्षक पदमा सिंह र अर्यालको पदोन्नति गरिएको हो ।
अर्यालको कार्यक्रम महानिरीक्षकको चार वर्षे अवधि पूरा छ भने सिंहको ११ महिना । दुबै प्रमुखले नेतृत्वमा रहँदासम्म सङ्गठनको सुदृढिकरण, प्रहरी कर्मचारीको क्षमता तथा वृत्तिविकास, चुस्त शान्ति सुरक्षा, नागरिकका अधिकार रक्षा गर्दै बदलिँदोस्थितिमा अपराध नियन्त्रणका लागि उपयुक्त रणनीति अख्तियार गरी तालुक निकायले तोकिदिएको जिम्मेवारीमा क्रियाशील भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । त्योसँगै यसपाली निकटमा आइसकेको (वैशाख ३०) को स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण, भय र धाँधलीरहित तवरमा सम्पन्न हुने वातावरण तयार पार्ने जिम्मेवारी पनि उनमाथि रहेको छ ।
दुबै सङ्गठनका प्रमुखले निर्वाचनलाई प्राथमिकतामाथिको प्राथमिकतामा राखेर सुरक्षा व्यवस्था मजबुद बनाउने विश्वास दिलाएका छन् । उनहरुमाथि अपराधविहीन, न्याय र शान्तिपूर्ण समाज निर्माण गर्नुपर्ने महत्वपूर्ण दायित्व छ ।
प्रविधिको दुरुपयोग गरी हुने आपराधिक गतिवधि, विविध जघन्य अपराधका घटना नियन्त्रण र दोषी पक्राउ गरी कारबाही गर्नुपर्ने चुनौतीप्रति उहाँहरु अत्यन्तै संवेदनशील हुनुपर्ने अवस्था छ ।
गृहसचिव टेकनारायण पाण्डे परम्परागत प्रहरी ढाँचाबाट आधुनिक प्रहरी ढाँचामा रुपान्तरण गर्दै विकास भइरहेको आधुनिक प्रकृतिका अपराधको चुनौती सामना गर्न सक्षम प्रहरी सङ्गठनलाई निर्माण, स्वास्थ्य सामाजिक संस्कार र सभ्यताको विकासका लागि उहाँहरुले भूमिका बढाउन आवश्यक रहेको बताएका छन् ।
उनले सङ्गठनभित्रका आन्तरिक विकृति विसङ्गतिको अन्त्य गर्न पनि सुझाव दिनुभएको छ । त्यसप्रति उहाँहरुले पूर्ण प्रतिबद्धता जनाउँदै राज्यले सुम्पिएको जिम्मेवारीलाई उच्च व्यवसायिकता, कर्मचारीको वृत्ति विकास, साङ्गठनिक सुदृढिकरण, थपिएका सुरक्षा चुनौतीको सामना गर्दै अपराधि नियन्त्रणमा गम्भीरतापूर्वक लाग्ने र आम नागरिकमाथि प्रहरीप्रतिको विश्वास अभिवृद्धि गर्ने रणनीतिमा केन्द्रित हुने बताएका छन् ।
को हुन् महानिरीक्षक अर्याल
काठमाडौँको तारकेश्वर नगरपाकिा–५ निवासी नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनुभवप्राप्त सुरक्षा अधिकारी हुनुहुन्छ । यसपटक महानिरीक्षकका लागि एकल दावेदार अर्याल २०५४ साल चैत १८ गते नेपाल प्रहरीको निरीक्षकबाट सेवा प्रारम्भ गरेका थिए ।
ग्रामीण विकास, राजनीति शास्त्र र समाजशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गर्नुभएका महानिरीक्षक अर्याल हाल विद्यावारिधि गर्दै छन् । उनले प्रहरी अधिकृत आधारभूत तालिम, विशेष सशस्त्र तथा युद्धकला, सशस्त्र प्रहरी सहिष्णुता, गुल्मपति तथा स्टाफ, उच्च व्यवस्थापन र विकास, अन्तर्राष्ट्रिय मानवीय तथा मानवअधिकार तालिम लिनुभएको छ ।
अर्यालले सुकीर्तिमय राष्ट्रदीप तृतीय, सुप्रवल जनसेवा श्री, युएन मेडल, परदेश सेवा पदक, गोरखा दक्षिण बाहु चौथो, युएन सेवा पदक दैवी प्रकोप उद्धार पदक प्राप्त गरेका छन् । उनसँग फरक–फरक दर्जामा रहेर दुई पटक लाइबेरिया मिसनसहित युएन मिसन, युएन डार्फर मिसनमा गएको अनुभव पनि छ ।
नेपाल प्रहरबिाट २०५८ साल मा सशस्त्रमा जानुभएका महानिरीक्षक अर्लालले सिकेका सीप र अनुभवलाई देश र नागरिकको हित, सङ्गठन सुदृढिकरण तथा सशस्त्र प्रहरी कर्मचारी पक्षमा लगाउने विश्वास दिलाएका छन् । सीमा सुरक्षामा डेडिकेटेड फोर्स निर्माण गर्नेमा ध्यान केन्द्रित गर्ने योजना सुनाउँदै अर्यालले सीमा सुरक्षामा नागरिक ससस्त्र प्रहरी साझेदारी बोडर सर्भिलेन्स कमिटी गठन गरी ईन्टेलिजेन्स ब्यूरो निर्माण गर्ने उनको अठोट छ । उनले सीमा निगरानी बहुउद्देशीय सडक निर्माणमा जोड दिएका छन् ।
चौबीसै घण्टा सञ्चालन हुने गरी सीमा सुरक्षा डेस्क स्थापना गर्ने योजना रहेको सुनाउने अर्याल भने, “शान्तिको समय तथा पब्लिक अडर म्यानेजमेन्ट जस्ता प्रकृतिका कार्यक्रममा नेपाल प्रहरी तथा प्रतिविद्रोह, आतङ्ककारी नियन्त्रण जस्ता प्रतिरक्षाका कार्यहरुमा नेपाली सेनासँग सुमधुर सम्बन्ध र समन्वयात्मक ढङ्गले अघि बढ्ने छु ।” आर्थिक पारदर्शीतामा रहने र राजस्व सङ्कलन तथा चोरी, तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेको उनले बताए ।
धीरजप्रताप सिंह र उहाँको प्रतिबद्धता
नेपाल प्रहरीको नवनियुक्त महानिरीक्षक धीरजप्रताप सिंह अब्बल प्रहरी अधिकृत हुनुहून्छ । २०२४ सालमा दैलेखमा जन्मिएका सिंह २०४९ साल चैत ११ गते निरीक्षक दर्जाबाट प्रहरी सेवा सुरु गरेका थिए । यही वर्षको चैत १० सम्म (११ महिना) उजको कार्यकाल छ ।
महानिरीक्षक सिंह २०६२ साल मा प्रहरी नायब उपरीक्षक, २०६९ मा प्रहरी उपरीक्षक, २०७४ मा प्रहरी वरिष्ठ उपरीक्षक, २०७७ मा प्रहरी नायब महानिरीक्षक र २०७८ मा प्रहरी अतिरीक्त महानिरीक्षक भएका थिए ।
राजनीतिक शास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरी विभिन्न सङ्गठन व्यवस्थापन र क्षमता विकासमा १३ वटा तालिम लिनुभएका सिंहले सुप्रवल जनसेवा श्रीलगायतका पदक प्राप्त गर्नुभएको छ ।
उनसँग नेपाल प्रहरीको मधेश प्रदेश, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय अपराध महाशाखा हुँदै केन्द्रीय अनुसन्धान ब्यूरोलगायतको कमाण्ड कुशलतापूर्वक सम्हालेको अनुभव छ । महानिरीक्षक भएपछि आर्थिक समृद्धि हालिस गर्ने नेपाल सरकारको सङ्कल्प पूरा गर्न लागिपर्ने उहाँले बताएका छन् ।
उनले नेपाल प्रहरीले प्रवाह गर्ने सेवामा गुणस्तरीयता र वृद्धि विकासलाई प्रभावकारी बनाउने तथा सहरकेन्द्रित अपराधको स्वरुपमा भएको तीव्र परिवर्तनले थपिएका चुनौती सामना गर्न प्रहरीलाई आधुनिक बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
अपराध र सुरक्षा चुनौतीका आधारमा मापदण्ड बनाइ सहर र ग्रामीण ‘पुलिसिङ’को अवधारणा अनुरुप सुरक्षित सहर र गाउँ बनाइ आम नागरिकमा प्रहरीको विश्वास वृद्धि गर्नमा रणनीति केन्द्रित गर्ने अठोट उनको छ ।
साङ्गठनिक क्रियाकलापलाई प्रक्रियागत र पारदर्शी बनाई कर्मचारीलाई जवाफदेही बनाउने तथा आपराधिक साँठगाँठ निमिट्यान्न पारी अकर्मण्यता निमूल पार्ने, भ्रष्टाचार नियन्त्रणलगायत सङ्गठन सुधरमा नै आफ्ना कार्यक्रम हुने उनले सुनाए ।



