images
images

यसरी जोडिदैछन् पनौती, नमोबुद्ध र तेमाल


  • 73
    SHARES
  • २०८३ आश्विन २ गते शुक्रबार

    यसरी जोडिदैछन् पनौती, नमोबुद्ध र तेमाल

    काभ्रेपलाञ्चोक, २ असोज । काभ्रेपलाञ्चोकको दक्षिण–पूर्वी क्षेत्रमा रहेका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थललाई जोडेर ‘बुद्ध-परिपथ’ विकास गरिने भएको छ । पनौती, नमोबुद्ध र तेमाललाई जोड्ने यो पर्यटकीय मार्ग निर्माणका लागि सङ्घीय सरकारले २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    परिपथ निर्माणका लागि क्रमागत बजेटमार्फत काम अघि बढाइने काभ्रेपलाञ्चोकका सांसद मधु चौलागाईंले बताए । उनका अनुसार पहिलो चरणमा १० करोड रुपैयाँ खर्च गरेर पनौतीको डबलीदेखि नमोबुद्धसम्मको करिब आठ किलोमिटर सडकलाई बुद्धसँग सम्बन्धित सम्पदा र संरचनाले आकर्षक बनाइनेछ ।

    सडककै दायाँबायाँ बुद्धका सम्पदा

    चलनचल्तीमा रहेका सडकलाई नै बुद्ध–परिपथका रूपमा विकास गरिनेछ । सडकको दायाँबायाँ बुद्धसँग सम्बन्धित भौतिक तथा सांस्कृतिक सम्पदा निर्माण गर्नुका साथै विभिन्न स्थानमा माने, चैत्य र लाफिङ बुद्धका प्रतिमा राखिनेछ । थान्कालगायत जानकारीमूलक बोर्ड पनि स्थापना गरिनेछ ।

    सांसद चौलागाईंका अनुसार परिपथको गुरुयोजना तयार भइसकेको छ । पनौतीदेखि नमोबुद्धसम्मको सडकलाई धार्मिक पर्यटनसँगै सांस्कृतिक र पर्यटकीय गतिविधिको केन्द्र बनाउने उद्देश्य छ ।

    बोक्से वनमा रतुवा मृग पार्क

    बुद्ध–परिपथअन्तर्गत नमोबुद्ध–भकुण्डे सडकखण्डमा पर्ने दाप्चास्थित बोक्से सामुदायिक वनमा रतुवा मृग पार्क निर्माण गर्ने योजना छ । पार्क निर्माणका लागि बागमती प्रदेशको वन मन्त्रालयमा योजना स्वीकृतिको प्रक्रिया अघि बढाइएको छ ।

    स्थान छनोट भइसकेको र प्रदेश सरकार पनि पार्क निर्माणमा सकारात्मक रहेको सांसद चौलागाईंले बताए ।

    भकुण्डेबेँसीमा सांस्कृतिक सङ्गम गेट

    बिपी राजमार्गअन्तर्गत भकुण्डेबेँसीको चारदोबाटोमा ‘सांस्कृतिक सङ्गम गेट’ निर्माण गरिनेछ । चारैतर्फबाट देखिने गेटमा विभिन्न धर्म तथा संस्कृतिका प्रतीक र सन्देशमूलक आकृति राखिने योजना छ ।

    नमोबुद्धदेखि भकुण्डेबेँसी हुँदै तेमालसम्मको करिब २५ किलोमिटर सडकलाई पनि बुद्ध-परिपथका रूपमा विकास गरिनेछ । यस क्षेत्रमा माने, चैत्य, लाफिङ बुद्धका प्रतिमालगायत बुद्धसँग सम्बन्धित विभिन्न भौतिक तथा सांस्कृतिक संरचना निर्माण गरिनेछ ।

    तेमालमा विशाल गुरु रेन्पोछे मूर्ति

    तेमालको याङबेलमा गुरु रेन्पोछेको विशाल मूर्ति निर्माण गर्ने योजना छ । त्यसका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको छ ।

    याङबेलमा बुद्ध पार्क निर्माण गरी विशाल गुरु रेन्पोछे र बुद्धका मूर्ति, विभिन्न बुद्ध आकृति, घण्टाघर, बच्चासहित बाघको प्रतिमा, शान्ति चैत्य, थान्का लेखन विद्यालय तथा पार्किङस्थल निर्माण गर्ने योजना रहेको सांसद चौलागाईंले बताए ।

    थान्का शिक्षालय सञ्चालन भएपछि तेमालमै बसेर थान्का लेखन सिक्न सकिने र यसले तेमाललाई देश तथा विदेशमा चिनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

    धार्मिक इतिहास बोकेको पनौती

    इतिहासविद्का अनुसार राजा प्रताप मल्लले विसं १७२७ मा रानीपोखरी निर्माण गरेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखिएको शिलालेखमा उल्लेख छ ।

    तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलासँगै पद्मावती नदी गुप्तरूपमा बग्ने धार्मिक विश्वास छ । पनौतीका धार्मिक तथा ऐतिहासिक सम्पदाले पनि बुद्ध–परिपथलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ ।

    नमोबुद्ध र तेमालको आफ्नै पहिचान

    नमोबुद्धलाई गौतम बुद्धसँग जोडिएको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलका रूपमा लिइन्छ । यहाँ लामा तथा महायानी गुम्बा, ठूला बुद्धमूर्ति र चैत्य रहेका छन् ।

    नमोबुद्धसँग जोडिएको किंवदन्तीअनुसार तत्कालीन पञ्चलादेशका राजा महारथ र रानी सत्यवतीका तीन छोरामध्ये कान्छा राजकुमारले गन्धमान पर्वतको जङ्गलमा भोकले छटपटाइरहेको बघिनीलाई आफ्नो शरीरको मासु र रगत दिएर जीवनदान गरेका थिए ।

    त्यस्तै, तेमाललाई तामाङ इतिहास, सभ्यता र संस्कृतिको महत्वपूर्ण क्षेत्रका रूपमा चिनिन्छ । नेपाल एकीकरणअघि रिञ्जेन दोर्जे बलको शासन रहेको समयमा भारतबाट तिब्बत जाने क्रममा गुरु पद्मसम्भवले तेमालमा ध्यान गरी सिद्धता प्राप्त गरेको इतिहास रहेको बताइन्छ ।

    इतिहास, धर्म, संस्कृति र प्राकृतिक सौन्दर्यलाई एउटै मार्गमा जोडेर विकास गर्न लागिएको बुद्ध–परिपथले काभ्रेको दक्षिण–पूर्वी क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।


    images
    images

    Logo