काठमाडौँ, २ असोज । प्रतिनिधिसभाका सांसद कृष्णहरी बुढाथोकीले बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकको मृत्यु दर्ता प्रमाणपत्र सहज रूपमा उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । मृत्यु दर्ता प्रमाणपत्र नहुँदा पीडित परिवारले बिमा, क्षतिपूर्ति तथा बैंकमा रहेको रकमसमेत प्राप्त गर्न नसक्ने अवस्था रहेकाले मानवीय संवेदनाका आधारमा कानुनी प्रक्रिया सहज बनाउन उनले आग्रह गरे ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बुढाथोकीले प्राकृतिक विपत्तिमा परी बेपत्ता भएका नागरिकका परिवारलाई आवश्यकताअनुसार राज्यले आर्थिक अभिभावकत्वसमेत प्रदान गर्नुपर्ने बताए । बाढीपहिरोका कारण हराइरहेका सवारीसाधनको बिमा रकम प्राप्तिका लागि समेत सरकारले सम्बन्धित निकायसँग सहजीकरण गर्नुपर्ने उनको माग छ ।
गोसाइँकुण्डमा एउटै परिवारका तीन सन्तान बेपत्ता
सांसद बुढाथोकीले गत असोज २०८२ मा गोसाइँकुण्ड जाने क्रममा आएको आकस्मिक भेलमा परी रामेछापका कृष्णबहादुर श्रेष्ठका तीन सन्तान बेपत्ता भएको घटना संसद्मा सुनाए ।
गोसाइँकुण्ड जाने क्रममा खोला तर्दै गर्दा अचानक आएको भेलले सनिता श्रेष्ठ, संस्कृति श्रेष्ठ र किसन श्रेष्ठलाई बगाएर बेपत्ता बनाएको उनले बताए । विदेशमा काम गरिरहेकी छोरीसमेत घुम्न आएका बेला उक्त दुर्घटनामा परेको उनको भनाइ छ ।
घटनापछि खोजी गर्दा पनि उनीहरू फेला नपरेपछि परिवारले करिब छ महिनापछि परम्पराअनुसार काजक्रिया गरेको थियो । घटनाका प्रत्यक्षदर्शीको बयानका आधारमा मुचुल्कासमेत तयार भएको र गृह मन्त्रालयबाट राहतसमेत उपलब्ध गराइएको सांसद बुढाथोकीले बताए ।
एक वर्ष पुग्दा पनि मृत्यु दर्ता भएन
घटना भएको लामो समय बितिसक्दा पनि परिवारले मृत्यु दर्ता प्रमाणपत्र पाउन नसकेको उनले बताए । त्यसका लागि वडा कार्यालय, नगरपालिका, गृह मन्त्रालय हुँदै अदालतसम्म धाउँदा पनि समस्या समाधान हुन नसकेको उनको भनाइ छ ।
भक्तपुर जिल्ला अदालतबाट समेत मृत्यु दर्ता प्रमाणपत्र दिन नमिल्ने निर्णय भएपछि परिवार थप पीडामा परेको उनले बताए ।
‘आफ्नो सबै परिवार गुमाइसकेको एक नागरिकले एउटा मृत्यु दर्ता प्रमाणपत्रको कागज पाउन पनि यति ठूलो संघर्ष गर्नुपर्ने अवस्था अत्यन्त दुःखद् हो,’ उनले भने ।
मृत्यु दर्ता नहुँदा बिमा र क्षतिपूर्ति रोकियो
मृत्यु दर्ता प्रमाणपत्र नहुँदा परिवारले पाउनुपर्ने बिमा रकम रोकिएको सांसद बुढाथोकीले बताए । विदेशमा काम गर्ने कम्पनीबाट प्राप्त हुने क्षतिपूर्ति र बैंकमा रहेको रकमसमेत कानुनी प्रक्रियाका कारण रोकिएको भन्दै उनले सरकारसँग तत्काल सहजीकरण गर्न माग गरे ।
बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकको मृत्यु दर्ता प्रमाणपत्र उपलब्ध गराउने प्रक्रिया सहज बनाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘पीडामा रहेको परिवारले एउटा मृत्यु दर्ताको प्रमाणपत्र पाउनसमेत नसक्ने अवस्था आउनु अत्यन्त दुःखद् हो ।’
मानवीय संवेदना र न्यायको दृष्टिले यस्ता संवेदनशील विषयलाई कानुनी जटिलतामा अल्झाइराख्न नहुने भन्दै उनले तत्काल समस्या समाधान गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
स्मरण रहोस् नेपाली कांग्रेसका सभापति गगन थापाले समेत बेपत्ता नागरिकको मृत्यु दर्ता गर्ने कानुन सहज बनाउन सरकारसँग माग गर्दै आएका छन् ।



